आज दशैँको सातौँ दिन, दशैँघर तथा शक्तिपीठमा फूलपाती भित्राएर मनाईँदै


 

काठमाण्डु – बडा दसैँको सातौँ दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ ।

प्राणीमात्रलाई कालले नष्ट गर्ने र त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता रहेको छ । यस्ती देवीको स्वरुपलाई कालरात्रि भनिन्छ । कालरात्रि कृष्ण वणर्को हुनुका साथै भयङ्कर आकृतिको हुन्छिन् भन्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ । प्राणीलाई नष्ट गर्ने भएकैले यी देवीलाई कालरात्रि भनिएको पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ । नवरात्रको पहिलो दिन असोज १० गते सोमबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो ।

त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । दोस्रो दिन मङ्गलबार पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन बुधबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो । चौथो दिन बिहीबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो भने पाँचौँ दिन शुक्रबार स्कन्दमाता र छैटौँ दिन शनिबार कात्यायनी देवीको पूजा आराधना गरियो ।

सातौँ दिन आज कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूणर्िमाका दिनसम्म लगाइन्छ ।

यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् । नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । राजधानी र राजधानीका बाहिरका शक्तिपीठ एवं देवी मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दसैँघरमा फूलपाती पनि भित्र्याइँदै छ । फूलपाती अपराह्न भित्र्याउने वैदिक विधि छ । फूलपाती भित्र्याउन साइत नचाहिने नेपाल पञ्चाङ्ग निणार्यक विकास समितिले जनाएको छ ।

फुलपाती भित्र्याइँदै

त्यस्तै आज महासप्तमीको दिन दशैँघर तथा शक्तीपिठहरुमा फुलपाती भित्राइँदै छ । महासप्तमीको बिहान वा दिउँसो दशैँघर वा शक्तिपीठमा फूलपाती भित्र्याइन्छ । यसलाई संस्कृत भाषामा नवपत्रिका भनिन्छ । केरा, दारिम, धान, हरिद्रा, मानक, कचु, बेल, अशोक र जयन्ती गरी नौ प्रकारका वनस्पतिलाई नवपत्रिका भनिन्छ। तर सबै वनस्पति नपाइएको अवस्थामा उखु, अदुवा तथा अन्य फूलका पत्र पनि फूलपातीमा प्रयोग गरेको पाइन्छ।

यी नौवटा वनस्पति भित्र्याई नवदुर्गालाई स्नान गराई प्रत्येक पत्रमा देवीहरूको पूजा गरिन्छ।यो अवसरमा काठमाडौंको हनुमानढोका दरबार, गोरखा दरबारलगायत स्थानमा समेत विशेष कार्यक्रमका साथ फूलपाती भित्र्याउने गरिन्छ।गोरखा दरबारबाट ल्याएको फूलपाती हनुमानढोकामा भित्र्याउने परम्परा अहिले पनि कायम छ ।

फूलपातीकै अवसरमा सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले हर्षबढाइँ गर्छ। यसको अवलोकनका लागि राष्ट्रप्रमुख, सरकारप्रमुख तथा अन्य संवैधानिक अंगका प्रमुखको उपस्थिति रहन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement