यसपालि दशैँमा पानी पर्ने सम्भावना कति ?

यसपालि दशैँमा पानी पर्ने सम्भावना कति ?


काठमाण्डु– यो वर्ष नेपालबाट मनसुन बाहिरिने प्रक्षेपण गरिएको दिन अर्थात् अक्टोबर २ को भोलिपल्ट घटस्थापना वा दशैँ सुरु हुने दिन परेको छ।

सामान्यतः मनसुन बाहिरिने भनी तोकिएको मितिको आसपास पानी पर्ने क्रम जारी रहने गरेको विगतको अनुभव छ। त्यसमाथि यस पटक ‘ला नीन्या’ भनिने मौसमी प्रक्रियाका कारण मनसुन बाहिरिइसक्दा समेत सुक्खा भइहाल्ने अवस्था कम हुने मौसम अधिकारीहरूले बताएका छन्।

‘ला नीन्या’ सक्रिय हुँदा भने नेपालमा सरदरभन्दा बढी वर्षा हुन्छ। नेपाली अधिकारीहरूले वर्षायामअगावै यस वर्ष सरदर भन्दा बढ्ता वर्षा हुने बताएका थिए।

भूमध्यरेखीय पूर्वी अथवा मध्यप्रशान्त महासागरमा सरदरभन्दा कम तापक्रम हुनुलाई नै ला नीन्याको अवस्था भनिन्छ।

जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धर मनसुन भित्रने र बाहिरिने प्रक्षेपण गरिएको मिति नै पनि यकिन रूपमा नमिल्ने तर चारपाँच दिन तलमाथि जहिल्यै हुने गरेको बताउँछिन्।

मनसुन अवधिभर १,४७९.७ मिलिमिटर पानी पर्नुलाई सरदर वर्षा भन्ने गरिन्छ।

नेपालमा पछिल्ला पाँच वर्षको मनसुन बाहिरिने मिति छिटोमा अक्टोबर ११ भएको देखिएको छ। अघिल्ला दुई वर्ष यो मिति मध्यअक्टोबरसम्मै पुगेको छ।

विवरण राख्न थालिएको सन् १९६८ यता सन् २०१३ मा नेपालबाट सबैभन्दा ढिलो गरी १९ अक्टोबरमा मनसुन बाहिरिएको थियो।

त्यसैले विभागको जलवायु मूल्याङ्कन शाखाकी वरिष्ठ डिभिजनल मौसमविद् विभूति पोखरेल पछिल्ला मौसमी प्रवृत्तिले दशैँसम्मै पानी पर्न सक्ने देखाएको बताउँछिन्।

मनसुनको प्रभाव रहने भारतको राजस्थानतिरबाट बाहिरिन थाल्ने क्रम सुरु भएपछि नेपालमा स्पष्ट सङ्केत देखिन थाल्ने बताइन्छ।

दुई वर्षअघिको दशैँमा टीकाकै दिन नेपालका धेरै स्थानमा पानी परेको थियो।

पोखरेल भन्छिन् ‘टीकाकै दिन नपरिहाले पनि घटस्थापनापछिका कुनै दिन पानी पर्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन।’

अर्का एक मौसमविद्‌ भने मनसुनको बाँकी अवधिमा ठूलो वर्षा हुने अवस्था अब खासै नरहेको भन्दै दशैँको मौसम घमाइलोनै हुने देखिने बताउँछन्। –बीबीसी