मुम्बई टुर : रोयलविरुद्ध डीसीएको सहज जित


मुम्बई– मुम्बई टुरमा रहेको धनगढी क्रिकेट एकेडेमी (डीसीए) ले शुक्रवार लगातार दोस्रो जित प्राप्त गरेको छ ।

मुम्बईको स्थानीय रोयल क्रिकेट क्लबलाई पाँच विकेटले पराजित गरी डीसीएले लगातार दोस्रो जित निकालेको हो । टस हारेर पहिले बलिङ्गका लागि निम्त्याइएको डीसीए ३५ ओभरको खेलमा रोयलले दिएको एक सय १५ रनको चुनौती २३ दशमलव २ ओभरमा पाँच विकेट गुमाएर सहजै पूरा ग -यो ।

डीसीएको जितमा रोहन विकले सर्वाधिक ३७ रन बनाए । उनको ब्याटबाट ६ चौका बनेको थियो । यसैगरी, सिजन कुँवरले नटआउट १८, किरण नाथले १८, कप्तान सुवोध ऐरले १५, सक्षम कार्कीले ९ रनको योगदान दिए । डीसीएका सोनु मण्डल पहिलो बलमै गोल्डेन डक आउट भएका थिए ।

बलिङ्ग गर्दै रोयल क्रिकेट क्लबका समित र पल्लवले समान दुई÷दुई विकेट लिए । इम्रानको भागमा एक विकेट परेको थियो ।
यस अघि, ब्याटिङ्ग गर्दै रोयल क्रिकेट क्बलले २९ ओभरमा अलआउट हुँदै एक सय १४ रन बनाएको थियो ।

रोयलको लागि प्रारम्भिक ब्याट्सम्यान राज वाघेलाले अर्धशतकीय पारी खेल्दै अविजित ६७ रन बनाए पनि जितको लागि त्यो पर्याप्त हुन सकेन । रोयलको एकातर्फबाट लगातार विकेट झरे पनि अर्कोतर्फबाट उनले रन बनाउँदै गएपछि रन योगफल स्कोर बोर्डमा हेर्न लायक बनेको थियो । सावनका आर्यनले १२ रन बनाउँदा अरु ब्याट्सम्यानले भने दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

रोयललाई रोक्ने क्रममा राजन लोहनी, निशान पन्तले डीसीएलाई समान दुई÷दुई विकेटको सफलता दिलाए । यसैगरी, १० वर्षीय खेलाडी सुवोध तिवारीले एक विकेट लिए । कुश मण्डल, सोनु मण्डल, सन्दिप आउजी, र विनोद विष्टको भागमा पनि एक÷एक विकट आयो ।

अहिलेसम्म चार एकदिवसीय मैत्रीपूर्ण खेल खेलिसकेको डीसीएले यो संगै दुई खेलमा जित र समान दुई खेलमा हारको स्वाद चाखेको छ । अब तीन वटा खेल खेल्न बाँकी रहेको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले जानकारी दिए ।

डीसीएले बिहीवारमात्रै मुम्बइ पुलिसको टिमलाई १० रनले पराजित गरेको थियो । भने स्टार सीसी र दादर युनियन क्लबसंग पराजित भएको थियो ।
खेलाडीहरुलाई ‘एक्सपोजर’ दिने उद्देश्य सहित डीसीए टोली १० दिन मुम्बई भ्रमणमा आएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement