इजरायल-हमास लडाइँमा ४५० भन्दा बढी मानिसको मृत्यु


काठमाण्डु- इजरायलमा हमास विद्रोहीहरुको हमलामा परेर ४५० भन्दा बढी मानिसको मृत्यु भएको छ । द न्युयोर्क टाइम्सका अनुसार आज बिहानसम्ममा इजरायल-गाजा युद्धमा ४५० भन्दा बढी मानिसको मृत्यु भएको हो । दुवै पक्षका गरी यो संख्यामा मृत्यु भएको जनाइएको छ ।

इजरायली अधिकारीहरूका अनुसार हमासको आक्रमणबाट २५० नागरिकको मृत्यु भएको छ भने १ हजार ४ सयभन्दा बढी घाइते छन्। इजरायलको जवाफी कारबाहीबाट २०० भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।

इजरायलका विभिन्न सहरमा हमास र इजरायली सैनिकहरूबीच युद्ध भइरहेको छ। विभिन्न सहरबाट हमासले त्यहाँका नागरिकहरूलाई बन्दी बनाएर लैजाँदै गरेको भिडियोहरू सार्वजनिक भएका छन्। इजरायली अधिकारीहरूले ज्येष्ठ नागरिक र सैनिक अधिकारीहरूलाई हमासले अपहरण गरी गाजा पुर्‍याएको बताएका छन्। शनिबार बिहान प्यालेस्टाइनको इस्लामिस्ट समूह ‘हमास’ले इजरायलका विभिन्न सहरमा आक्रमण गरेका थिए।

इजरायल युद्धमा परेका नेपालीको उद्धारमा खटियो एनआरएनए

गैरआवासीय नेपाली संघले इजरायलमा भएको आतंकवादी आक्रमणमा परी ९ जना नेपाली घाइते भएको तथा ५ जनाको उद्धार गरिएको जनाएको छ । संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीले संस्थाको तर्फबाट शनिवार एक विज्ञप्ति जारी गर्दै सो घट्नाको निन्दासमेत गरेका छन् ।

आक्रमणमा नेपालबाट इन्टर्नसीपका लागि त्यहाँस्थित सेदोट नेगेभ कृषि केन्द्रमा गएका ९ जना नेपाली घाइते भएको र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको इजरायलस्थित गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषदले जानकारी दिएको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि संघका अध्यक्ष डा. केसीले इराजयलस्थित नेपाली समुदाय, नेपाली दुतावास र संघसंस्थाका प्रतिनिधिहरु बीच आपतकालिन बैठकको गरेका थिए । संघले त्यहाँ अल्पत्रमा परेका नेपालीहरुको उद्धारको लागि तत्कालै काम थालेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement