छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु


काठमाण्डु- उदयपुर, उदयपुरगढी गाउँपालिका-७ अधेरीस्थित नेपालटारबाट गाईघाटतर्फ जाँदै गरेको प्र १-०५-००१ ख ००४४ नम्बरको अन्नपूर्ण बोर्डिङ स्कुलको बस आफै अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा बसका चालक समेत ३ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका बसका चालक त्रियुगा नगरपालिका-६ बस्ने ४० वर्षीय भिखन चौधरी, बसमा सवार सोही ठाउँ बस्ने ११ वर्षीय विकाश चौधरी र ७ वर्षीया कुमारी चौधरीको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका १ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको, १२ जनालाई थप उपचारको लागि न्यूरो अस्पताल बिराटनगर रिफर गरिएको छ भने २७ जना उपचार पश्चात डिस्चार्ज भएका छन् ।

यसैगरी उदयपुर, बेलका नगरपालिका-८ एल.के.खोजस्थित सडकमा प्रदेश नं.१-०५००१ प ०८३१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक सोही नगरपालिका-४ गुरुङचौरी बस्ने ३२ वर्षीय हरिशंकर घिमिरेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागि नोबेल अस्पताल बिराटनगर रिफर गरिएको छ ।

सप्तरी, खडक नगरपालिका-१० ईनर्वा फुलबरियामा हाल नम्बर मेटिएको ट्याक्टरको धान दाउने मेसिन खेतको आलीमा चढ्ने क्रममा धान दाउने मेसिन पल्टिएर शनिबार दिउँसो दुर्घटना हुँदा बोदेबर्साईन नगरपालिका-५ जाजर बस्ने ३५ वर्षीय जितेन्द्र रामको मृत्यु भएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दाङ, तुलसीपुर उपमहानगरपालिका-१८ सातकुलेमा सग्रामबाट सातकुलेतर्फ जाँदै गरेको लु.३ त ९६६६ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरका हेल्पर सोही उपमहानगरपालिका-१९ बस्ने १८ वर्षीय बिराज बिकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

डोल्पा, ठुलिभेरी नगरपालिका-९ मोतिपुरमा त्रिपुराकोटबाट दुनैतर्फ जाँदै गरेको लु.२ च ५९१५ नम्बरको मकै लोड भएको ट्याक्टरको ट्रलीमा च्यापिएर चालक रूकुम पश्चिम आठबिसकोट नगरपालिका-९ राडी बस्ने २७ वर्षीय लक्की थापाको शनिबार राति मृत्यु भएको छ । च्यापिएर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल दुनैमा उपचारको क्रममा मृत्यु भएको हो ।

बारा, आदर्शकोतवाल गाउँपालिका-१ जमुनी खोलामा बरियारपुरबाट लङ्गडा चोकतर्फ जाँदै गरेको ना.५ त ५३२७ नम्बरको उखु लोड गरेको ट्याक्टरबाट लडेर जितपुर सिमरा उपमहानगरपालिका-१८ मनहरवा बस्ने ४५ वर्षीय जयनारायण पण्डितको शनिबार राति मृत्यु भएको छ । ट्याक्टरबाट लडेर सोही ट्याक्टरको चक्काले किच्दा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको
प्रहरीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement