आठ भारतीय मृत्यु प्रकरणः ५ सदस्यीय छानविन समिति गठन


काठमाडौं – नेपाल पर्यटन विभागले मकवानपुरको होटलमा ८ जना भारतीय पर्यटकको मृत्यु प्रकरण छानविन गर्न समिति गठन गरेको छ । पर्यटन विभागको होटल शाखाले निर्देशक सुरेन्द्र थापाको संयोजकत्वमा बुधवार ५ सदस्यीय छानविन समिति गठन गरेको हो ।

सदस्यमा होटल शाखाकै सदस्य सचिव तिलक रिजाल, पर्यटन प्रहरीका इन्सपेक्टर अस्मिता कपाली रहेका छन् । समितिमा स्वास्थ्य मन्त्रालय र होटल एसोसिएसन(हान)का एक एक जना प्रतिनिधि पनि रहेका छन् ।

नेपाल घुम्न आएका भारतस्थित केरलाका ८ जनाको मंगलवार राति मकवानपुरको एभरेस्ट पानारोमा होटलको कोठमा ग्यास हिटरमा गुम्सिएर मृत्यु भएको थियो । होटलले कुनै पनि व्यवस्थाकीय कमजोरी नगरेको दाबी गरेको छ ।

होटलमा मंगलवार बिहान उनीहरु बेहोस अवस्थामा भेटिएका थिए । उनीहरुलाई हेलिकप्टरमार्फत राजधानीको ह्याम्स अस्पताल ल्याइएको थियो ।

अस्पताल आइपुग्दा उनीहरुको मृत्यु भइसकेको अस्पतलाका इमर्जेन्सी इन्चार्ज डा कमल थापाले बताएका थिए । मृतकको शव पोस्टमार्टमका लागि मंगलबार नै शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement