छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा २ जनाको मृत्यु


काठमाण्डु – कञ्चनपुर र डोटीमा भएका छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

कञ्चनपुरको बेदकोट नगरपपालिका–३ दैजीस्थित सडकमा म१प ५२८२ नम्बरको मोटरसाइकल र म२प ३५५६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा म१प ५२८२ नम्बरको मोटरसाइकल चालक बेदकोट नगरपालिका–२ बस्ने २६ वर्षीय श्रीधर नाथको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका म१प ३५५६ नम्बरका मोटरसाइकल चालक समेत ३ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

डोटीको जोरायल गाउँपालिका–२ धारापानीस्थित सडकमा सुप प्र ०१ ००१ ख ००१२ नम्बरको ट्यांकर र सुप प्र ०१ ०११ प ५२१९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक कैलालीको जानकी गाउँपालिका–९ कटांसे घर भएका ३६ वर्षीय रमेश विकको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार १ जनाको अस्पतालमा उपचार भइरहेको छ । ट्यांकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement