‘ब्रेन डेथ’ भएका व्यक्तिबाट अंग प्रत्यारोपण कठिन भएकोमा चिन्ता

‘ब्रेन डेथ’ भएका व्यक्तिबाट अंग प्रत्यारोपण कठिन भएकोमा चिन्ता


काठमाण्डु – ‘ब्रेन डेथ’ भएका व्यक्तिबाट अंग प्रत्यारोपण कठिन भइरहेकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा भएको अंगदान सम्बन्धी वर्तमान अवस्था, समस्या, चुनौती र भावी कार्यदिशा विषयक छलफलका क्रममा सरोकारवालाले जनचेतनाको कमी र सरकारी उदासिनताले ब्रेन डेथ भएका व्यक्तिबाट अंग प्रत्यारोपण गर्न कठिनाइ भएको बताएका छन् ।

छलफल कार्यक्रममा सरोकारवालाले उपत्यकाका ठूला अस्पतालमा सडक दुर्घटना लगायत कारणबाट ब्रेन डेथ भएका बिरामी आउने गरे पनि त्यस्ता व्यक्तिबाट अंगको पर्खाइमा रहेका बिरामीमा प्रत्यारोपण गर्न समस्या भएको बताए । उनीहरूले मानिसले अंगदान गर्दा पुण्य कमाउन सकिन्छ भन्ने जनचेतना आम सर्वसाधारणमा जागृत गराउन नसक्नु, अस्पतालले समयमा जानकारी दिने काम नगर्नु, ब्रेन डेथ घोषणा गर्ने प्राविधिक जनशक्तिको कमी हुनु र उनीहरूले यस्तो काम गर्दा आइपर्ने रिस्क उठाउन तयार नहुनु र कानूनी र सरकारी निकाय नै बाधक बन्दा धेरै जनाको ज्यान बचाउन सकिने काम पनि कठिन भएको धारणा राखेका थिए ।

मस्तिष्क मृत्यु घोषणा भएका बिरामीको अंग झिक्ने, झिकेका अंग सुरक्षित राख्ने, अंग प्रत्यारोपण गर्नुपर्ने बिरामीको अभिलेख दुरुस्त राख्ने तथा प्राप्त अंगलाई प्राथमिकता क्रमअनुसार वितरण गर्ने व्यवस्था मिलाउन सरकारी संयन्त्रको क्रियाशिलता र जनचेतना जगाउन ढिला भइसकेको पनि बताएका थिए ।

छलफल कार्यक्रममा राष्ट्रि«य सभाकी उपाध्यक्ष विमला घिमिरेले कानूनी समस्या र व्यावहारिक समस्यालाई प्राथमिकताका साथ समाधान गर्नुपर्ने बताइन् । उनले मानव अंग प्रत्यारोपलाई बढाउन र मानिसको जीवन बचाउनका लागि कानूनी र व्यावहारिक जटिलताहरूलाई समाधान गर्ने तथा जनचेतना बढाउने कुरामा सदनले आवश्यक पहल गर्ने आश्वासन पनि दिइन् ।

समितिका सदस्यहरूले मानव अंग प्रत्यारोपणका विभिन्न विषयमा जिज्ञासा र समाधानका लागि आफ्नो राय राखेका थिए । मस्तिष्क मृत्यु घोषणा भएका व्यक्तिको परिवारले सबै उपचार खर्च मिनाहा आवश्यक रहेको पनि समितिका सभापति सोनाम ग्याल्जेन शेर्पाले बताए ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले पछिल्ला वर्षहरूमा नसर्ने रोगबाट मृत्यु हुनेको संख्या डर लाग्दो भएको बताए ।