मेमोरी कार्डले लियो महिलाको ज्यान, श्रीमानसहित चारजना पक्राउ

मेमोरी कार्डले लियो महिलाको ज्यान, श्रीमानसहित चारजना पक्राउ


धनुषा – धनुषामा मेमोरी कार्डका कारण भएको विवादलाई लिएर एक महिलाको घाँटी थिची हत्या भएको छ ।

माघ १८ गते शनिबार धनुषाको औरही गाउँपालिका वडा नम्बर २ बस्ने २२ वर्षीया चिन्तामणी पासवानको घाँटी थिचेर हत्या गरिएको थियो ।

हत्या आरोपमा ५५ वर्षीय ससुरा राधाकृष्ण पासवान, ४५ वर्षीया सासु कुमला पासवान, ३० वर्षीय श्रीमान अनिल कुमार पासवान र २० वर्षीया नन्द पुनिता पासवानलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले सोमबार पत्रकार सम्मेलन मार्फत पक्राउ परेकालाई सार्वजनिक गरेको हो ।

पक्राउ परेकाविरुद्ध कर्तव्य ज्यान आरोपमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले बताए ।

माघ १८ गते शनिबार चिन्तामणी र उनकै नन्द पुनिता पासवानबीच मेमोरी कार्डका विषयमा विवाद भएको थियो । विवादपछि चारै जना मिलेर चिन्तामणीको घाँटी थिचेर हत्या गरिएको प्रहरीको दावी छ ।

अपराधलाई लुकाउनका लागि परिवारले झुण्डिएर उनले आत्महत्या प्रयास गरेको आरोप लगाएका थिए । शवलाई अटो रिक्सामा राखी उपचारका लागि भन्दै प्रादेशिक अस्पतालमा लगिएको र अस्पतालमै राखेर टोली फरार भएको प्रहरीले जनाएको छ ।

घटनाको सम्बन्धमा प्रहरीलाई जानकारी भएपछि जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले खोजतलास गर्ने क्रममा आरोपी मध्येका कुमला पासवान र पुनिता पासवानलाई जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ स्थित पेठिया बजारबाट आइतबार साँझ ५ बजे पक्राउ गरिएको थियो ।

त्यस्तै राधाकृष्ण पासवान र अनिल कुमार पासवानलाई सोमबार बिहान ६ बजे धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर २ स्थित बलहा टोलमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए ।