मृत्युनजिक पुग्दा के अनुभव हुन्छ ?

मृत्युनजिक पुग्दा के अनुभव हुन्छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सन् १९९९ को अप्रिलमा अमेरिकी डाक्टर क्रिस्टोफर केरले यस्तो घटना देखे जसले उनको करिअरको दिशा नै बदलिदियो ।

मेरी नामकी एक बिरामीको अन्तिम समय आइपुग्दै थियो । अस्पतालको शैयामा आफ्ना चार जना वयस्क सन्तानले घेरिएको बेला उनले अनौठो व्यवहार गर्न थालिन् ।

शैयामा सुतिरहेकी ती ७० वर्षीया बिरामी जुरुक्क उठिन् र उनको काखमा कुनै बच्चा रहेको जस्तो गरी हातलाई झुला बनाएर हल्लाइन् । उनले मात्रै देखिरहेको उक्त बच्चालाई उनले ‘ड्यानी’ भन्दै बोलाइन्, अँगालो हालिन् र चुमिन् ।

उनका छोराछोरीका निम्ति त्यो दृश्य अनौठो थियो किनभने उनीहरूले ड्यानी नाम गरेको कसैलाई चिनेका थिएनन् ।

तर अर्को दिन मेरीकी दिदी अस्पतालमा आइन् र उनले चार सन्तान जन्मनुअघि मेरीले ड्यानी नाम गरेका छोरालाई जन्म दिएकी थिइन् । तर ती शिशुको जन्मँदै निधन भइसकेको थियो ।

मेरीका निम्ति त्यो घटना यति पीडादायी बन्यो कि उनले त्यसबारे कहिल्यै बताइनन् ।

डा. केरले मुटुरोगमा विशेषज्ञता हासिल गरेका छन् र न्यूरोबायोलजीमा विद्यावारिधि गरेका छन् । उनलाई यो घटना यति असाधारण लाग्यो कि उनले आफ्नो विज्ञताको क्षेत्र परिवर्तन गर्दै मर्न लागेका मानिसहरूको अनुभव अध्ययन गर्न थाले ।

मेरीलाई भेटेको २५ वर्षपछि अहिले डा. केर यो विषयको विश्वकै अग्रणी विज्ञ भएका छन् । उनी मर्न लागेका मानिसहरूले देख्ने दृश्य र सपनाहरूको अध्ययन गर्छन् ।

मानिसहरूले मृत्यु हुनुभन्दा हप्तौँ अगाडिदेखि फरक अनुभूति गर्ने र मृत्युको दिन नजिकिँदै जाँदा त्यो अझ बढी महसुस हुने उनी बताउँछन् ।

केरका अनुसार उनले मानिसहरूले आफ्ना जीवनका महत्त्वपूर्ण क्षणहरू पुनःस्मरण गर्न थालेका अनि वर्षौँ पहिल्यै मरिसकेका तिनका बुबाआमा, बालबच्चा वा तिनले पालेका जनावरसँग बोलेका दृश्यहरू देखेका छन् ।

ती बिरामीहरूका निम्ति ती दृश्य एकदम वास्तविक, सघन हुने गर्छन् र तिनले उनीहरूलाई एक किसिमको ‘शान्तिको अनुभूति’ गराउँछन् ।

‘ती घटना वा सम्बन्धहरू अर्थपूर्ण तरिकाले पुनःस्मरण हुन्छन् जसले तिनले बाँचेका जीवन अर्थपूर्ण रहेको अनुभव गराउँछन् र मृत्युको त्रास पनि कम गराइदिन्छन्,’ केरले भने ।

त्यस्तो अवस्थाका बिरामीहरू दिग्भ्रमित वा असन्तुलित मनस्थितिमा नहुने भन्दै केरले तिनको शारीरिक स्वास्थ्य अवस्था खस्किए तापनि भावनात्मक रूपले उनीहरू सामान्य रहने गरेको बताए ।

तर कतिपय डाक्टरहरूले यस्ता घटनालाई भ्रान्तिको संज्ञा दिएका छन् र बिरामीहरू भ्रमित भएका कारण गलत आभास उत्पन्न हुने बताएका छन् । कुनै निक्र्योलमा पुग्नुअघि यस्ता घटनाका थप वैज्ञानिक अनुसन्धानको आवश्यकता उनीहरूले औँल्याएका छन् ।

सन् २०१०मा डाक्टर केरले एउटा नौलो अध्ययन अमेरिकामा सुरु गरे। मृत्युको नजिक पुगेका बिरामीहरूमाझ उनले एउटा सर्वेक्षण नै गरे, जसमा तिनले ती समयमा कस्तो दृश्य देखे भनेर सोधिएको थियो ।

सर्वेक्षणमा सामेल गराउनुअघि कतै उनीहरूको मानसिक सन्तुलन खलबलिएको छ कि भनेर सबै बिरामीहरूको जाँच गरिएको थियो ।

यो अध्ययनभन्दा अगाडि यस्ता विषयका प्रतिवेदनहरूमा बिरामीहरूको अनुभवबारे तेस्रो व्यक्तिका भनाइमात्र समेटिएका थिए ।

केरको अध्ययनका नतिजाहरू स्वीडनको नेशनल लाइब्रेरी अफ मेडिसिनसहित कैयौँ वैज्ञानिक जर्नलहरूमा प्रकाशित भएका छन् ।

यस्ता अनुभूतिहरूको वास्तविक वर्णन गर्नसक्ने गरी डाक्टर केरले कुनै ठोस जवाफ अझै पाइसकेका छैनन् । ती अनुभूतिका कारण पत्ता लगाउने विषय उनको अध्ययनको मुख्य प्राथमिकता पनि नभएको उनी बताउँछन् । ‘मैले कारण वा प्रक्रिया वर्णन गर्न नसक्दैमा बिरामीहरूको अनुभूति नै नकार्न मिल्दैन,’ उनले भने । अचेल डा. केर न्यूयोर्क राज्यको बफालोमास्थित एक पालिएटिभ उपचार केन्द्रका प्रमुख कार्यकारी हुन् ।

उनको पुस्तक ‘डेथ इज बट अ ड्रीम : फाइन्डिङ होप एन्ड मिनिङ एट लाइफ्स एन्ड’ सन् २०२० मा प्रकाशित भएको थियो र १० विभिन्न भाषामा अनुवाद गरिएको थियो ।