बल्खुस्थित बागमती नदीमा ६१ वर्षीय एक पुरुष मृत फेला परेका छन्। प्रहरीका अनुसार दिउँसो नदी किनारमा उनको शव भेटिएको हो। मृतकको पहिचान इन्द्रबहादुर राई रहेको जनाएको छ ।
स्थानीय प्रज्वल लिम्बूका अनुसार मृतक बल्खुको जागरण टोलका बासिन्दा हुन्। उनी लामो समयदेखि बल्खुको फलफूल मण्डीमा काम गर्दै आएका थिए। लिम्बूले घरमा डोजर चलाइएपछि उनी विरक्तिएको बताउँदै त्यसपछि बाहिर निस्किएको जानकारी दिए। मृतककी श्रीमतीले पनि घर भत्काइएपछि उनी निराश अवस्थामा घरबाट निस्किएको बताएकी छन्।
प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले मृतकका परिवारसँग सम्पर्क भइरहेको जानकारी दिए। काठमाडौंका खोला किनारमा रहेका अव्यवस्थित बस्ती हटाउने क्रममा शुक्रबार बिहानै बल्खु र टेकु नजिक पर्ने वंशीघाट, शंखमूललगायत क्षेत्रमा डोजर चलाइएको थियो।
यसअघि काठमाडौं जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै बस्ती खाली गर्न आग्रह गरेको थियो। सोही सूचनापछि धेरै स्थानीयले आफैं घरटहरा खाली गर्न थालेका थिए।सुरक्षा निकायको बाक्लो उपस्थितिमा डोजर प्रयोग गरी बस्ती हटाउने कार्य जारी रहेको छ। घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरी परिचालन गरिएको छ।




प्रतिक्रिया