गोलबजार – सिरहाको गोलबजारमा खाल्डोमा डुबेर एकै परिवारका ३ बालबालिकाको मृत्यु भएको छ ।
गोलबजार–७ स्थित पुरानो चोक चोहर्वामा रहेको पशु हाटबजार परिसरमा पशुचौपायालाई पानी खुवाउन खनेको खाल्डोमा जमेको पानीमा डुबेर उनीहरूको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मृत्यु हुनेमा १२ वर्षीया सबनम खातुन, १० वर्षीया रुबिना खातुन र ७ वर्षीय साइफुल शेख रहेका छन् ।
रौतहट जिल्लाको जिगरवा स्थायी घर भएका उनीहरू गोलबजार–७ मा डेरा गरी बस्दै आएका थिए । कवाडी संकलन गरी जीविकोपार्जन गर्दै आएका तीनै जना आईतबार दिउँसो घरबाट खेल्न निस्किएका थिए ।
घटनापछि स्थानीयवासी तथा सुरक्षाकर्मीले उद्धार गरी उपचारका लागि अस्पताल पुर्याए पनि चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया