काठमाण्डु– अविरल वर्षाका कारण घर भत्किँदा धनुषामा एक महिलाको मृत्यु भएको छ।
धनुषाको मिथिला नगरपालिका–११, बर्दिबासस्थित सिन्धुली सडकखण्ड नजिकै आँपगाछी चोकमा घर भत्किँदा स्थानीय ४२ वर्षीया कमला श्रेष्ठको मृत्यु भएको हो।
टिनको छानो भएको काठको घर अविरल वर्षाका कारण पहिरो गएर आज बिहान करिब ९ः५० बजे भत्किएको थियो। घर भत्किएर पुरिएपछि घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस नक्टाझिज धनुषा, सुरक्षा बेस गौरीडाँडा महोत्तरी, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त उद्धार टोली पुगेको थियो।
उद्धार टोलीले जेसीबीको सहयोगमा श्रेष्ठको शव निकालेर पोस्टमार्टमका लागि बर्दिबास अस्पताल, महोत्तरी पठाएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया