को हुन वरिष्ठ जनगायक ‘जेबी टुहुरे’ ?


काठमाण्डु – जनगायक जुठबहादुर खड्की ‘जेबी टुहुरे’को निधन भएको छ । पक्षघात भएका टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको हो ।

पक्षघात भएर लडेका टुहुरेलाई १ भदौमा अस्पताल भर्ना गरिएको थियो । मुटु, फोक्सो, महुमेह र उच्च रत्तचाप लगायतका दीर्घरोगका कारण शल्यक्रिया हुन नसकेका टुहुरेको उपचारका क्रममा बिहीबार निधन भएको उपचारमा संलग्न डा. रोहन झाले बताए ।

जनसांस्कृतिक महासंघका निवर्तमान अध्यक्ष सरल सहयात्रीका अनुसार दोस्रो संविधानसभा सदस्य समेत रहेका टुहुरेको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि दिउँसो साढे १ बजेदेखि २ बजेस्म्म पार्टी कार्यालय पेरिसडाँडामा राखिने छ । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।

को हुन जेबी टुहुरे ?

सुनसरीको धरानस्थित पुरानो बजारमा १५ कात्तिक २००१ मा जन्मिएका टुहुरेले सानैदेखि गीत गाउन थालेका थिए । उनले २०२१ सालमा पिता कृष्णबहादुर खड्गीको निधन भएपछि आफ्नो नामको पछाडि टुहुरे जोडेका थिए ।

लामो समय एमालेमा तत्कालिन महासचिव मदन भण्डारीको निकट रहेर काम गरेका टुहुरे जनसेवा श्री पदक, हेम सरिता संगीत पुरस्कार लगायत विभिन्न सम्मान तथा पुरस्कारबाट सम्मानित भएका थिए । २०२० को दशकदेखि कम्युनिस्ट विचारधारासँग नजिक भएका टुहुरे दोस्रो संविधानसभामा तत्कालीन एकीकृत नेकपा माओवादीबाट समानुपातिक सभासदसमेत बनेका थिए ।

२०७५ सालमा उनको नाममा जेबी टुहुरे फाउण्डेसन स्थापना गरिएको छ । फाण्डेसनको अध्यक्ष उनकी छोरी निर्भीका छिन् । टुहुरेले १ सय ५० भन्दा बढी जनपक्षीय गीत गाएका छन् । टुहुरे ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैं प्यासी बनेर, ‘बसाइँ हिँड्नको ताँतीले बस्नेको मन रुँद छ, लाखौंको लागि उजाड छ यो देश मुठ्ठीभरलाई त स्वर्ग छ’, ‘छोराहरु हो, छोरीहरु हो बीर छोरा छोरी हो’, ‘दुःखको बोझलाई बिसाउन चौतारी बनाउँ है’ लगायत चर्चित छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement