नुवाकोट– सामाजिक सञ्जालमा फैलाइएको गलत सूचनाका कारण बाढी प्रभावित क्षेत्रमा मानिस हैरान हुन थालेका छन् ।
पछिल्लो समय समय एउटा पुल निर्माणको विषयमा फैलिएको भ्रमपूर्ण हल्लाका कारण मानिसहरुले सास्ती पाउन थालेका छन् ।
घरपरिवार गुमाएर पीडामा परेका नागरिकले फेक सूचनाले थप आहत बनाउने गरेको छ ।
नुवाकोटको देवीघाटस्थित तादी नदीमाथि बेलिब्रिज जडानको काम बल्ल सुरु भएको छ ।
तर, सामाजिक सञ्जालमा भने पुल निर्माण सम्पन्न भइसकेको देखाउने एआई निर्मित तस्बिर भाइरल भएपछि सर्वसाधारणमा भ्रम फैलिएको छ ।
नेपाली सेनाले शुक्रबारदेखि देवीघाटमा बेलिब्रिज जडान थालेको हो । सडक विभागले गजुरीमा राखेको बेलिब्रिज ल्याएर जडान सुरु गरिएको भए पनि हालसम्म करिब १० प्रतिशत मात्रै काम सकिएको छ ।
पुल निर्माणकै क्रममा रहेका बेला सामाजिक सञ्जालमा भने पुल बनिसकेको देखाउने तस्बिर सार्वजनिक भएको हो ।
वास्तविक स्थलमा पुलको मुखतर्फ कुनै घर छैन । तर, एआईबाट तयार पारिएको तस्बिरमा पुलको मुखमै घर देखाइएको छ ।
पुल बनिसकेको तस्बिरलाई वास्तविक ठानेर केही मानिस गल्छी–त्रिशूली सडक प्रयोग गरेर समस्यामा समेत परेका छन् ।
गत भदौ १० गते आएको बाढीले तादी नदीमाथिको पुल बगाएपछि उक्त सडकखण्डमा आवागमन अवरुद्ध छ ।
गलत सूचना फैलिन थालेपछि नुवाकोटका पत्रकार रामहरि न्यौपानेले निर्माणाधीन पुलको वास्तविक अवस्थाका तस्बिर सार्वजनिक गर्दै सामाजिक सञ्जाल प्रयोगकर्तालाई सचेत गराएका छन् ।
न्यौपानेले नियमित काम भए आगामी बुधबारसम्ममा मात्र पुल जडान सकिने बताएका छन् । उनले विपद्को समयमा एआईबाट फोटो बनाएर पुल निर्माण सम्पन्न भएको गलत सन्देश नदिनसमेत आग्रह गरेका छन् ।
‘नियमित काम भएमा देवीघाटमा निर्माण भइरहेको एक्रोब्रिज सम्पन्न हुन आगामी बुधबारसम्म लाग्नेछ’, न्यौपानेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिलेको विपद्को समयमा एआईबाट फोटो बनाई पुल निर्माण सम्पन्न भएको भन्ने गलत सन्देश नदिनुहोला ।’
भदौ १० को बाढीले रसुवा, नुवाकोट र धादिङमा ३५ भन्दा बढी पुल बगाएपछि प्राथमिकताका आधारमा अत्यावश्यक स्थानमा बेलिब्रिज जडान गर्ने काम थालिएको छ । उत्तरी छिमेकी चीनले दिएको दुईवटा बेलिब्रिज नेपाल आइपुगेको छ ।




प्रतिक्रिया