बाढी पहिरोबाट ९ सयको मृत्यु भएपछि पाकिस्तानमा राष्ट्रिय संकट घोषणा


एजेन्सी – पाकिस्तानमा सरकारले राष्ट्रिय संकट घोषणा गरेको छ । लगातारको बर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी पहिरो आएको र मानवीय तथा भौतिक क्षति भएकाले राष्ट्रिय सङ्कट घोषणा गरिएको हो ।

सरकारले बिहीबार राष्ट्रिय संकट घोषणा गर्दै आफ्ना सबै शक्ति तथा कार्यक्रम प्रभावित क्षेत्र र पीडित जनतामा केन्द्रित गरिने जनाएको छ । राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो समयमा आएका बाढी पहिरोका घटनामा परी नौ सय ३७ जनाको मृत्यु भएको छ ।

ती मध्ये तीन सय ४३ जना बालबालिका रहेका छन् । त्यसैगरी बाढी पहिरोका कारण अरु हजारौँ मानिस घाइते तथा विस्थापित भएका छन् भने लाखौँ मानिस प्रभावित भएका छन् । मृत्यु भएका मध्ये सबैभन्दा धेरै सिन्ध प्रान्तमा मृत्यु भएको छ । त्यहाँ ३०६ जनाको मृत्यु भएको पाकिस्तानी गृह मन्त्रालले जनाएको छ । पाकिस्तानमा पछिल्लो समय गत जुन १४ देखि बाढी पहिरोका घटना बढेका छन् ।

त्यसैगरी बालुचिस्तानमा दुई सय ३४, खैबर पख्तुन्ख्वामा एक सय ८५ जना र पन्जावमा १६५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पाकिस्तानमा अहिले अस्वभाविक रुपमा बर्षा भएको र त्यसको असर पनि अस्वभाविक नै रहेको अधिकारीहरुले जनाएका छन् ।

प्राधिकरणले बुधबार सार्वजनिक गरेको विवरण अनुसार सोही अवधिमा अरु एक सय १३ जना घाइते भएका छन् । त्यसैगरी हजारौँ मानिस घरबार विहिन भएका र उनीहरु मध्ये कतिपय अझै पनि अस्थायी शिविरमै रहेको प्राधिकरणले जनाएको छ ।

बाढी पहिरो गएका ठाउँमा उद्धार तथा राहतका लागि ठूलो मात्रामा जनशक्ति परिचालन गरिएको छ । उनीहरुले घटनास्थलमा दयनीय अवस्था रहेकाले धेरै सहयोग सामग्रीहरुको आवश्यकता रहेको बताएका छन् । बाढी पहिरोले धेरै क्षति गरेकाले अन्तर्राष्ट्रिय समुदायबाट सहयोगको अपेक्षा गरिएको पाकिस्तानी सरकारी अधिकारीहरुले बताएका छन् ।-एएनआई

प्रतिक्रिया दिनुहोस
Advertisement