हिजो सुशील र झलनाथलाई पनि झापड हानियो, मिलनलाई त मुख्यमन्त्रीले नै हान्नुपर्नेः दीपक मनाङे


काठमाडौं – गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव गुरुङ ( दीपक मनाङे) ले आफूले ठगलाई झापड हानेको बताएका छन् । ठगलाई झापड हान्ने आफूलाई प्रहरीले पक्राउ गर्न नपाउने उनको भनाइ थियो ।

मंगलबार एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई मुख्यमन्त्री कपको उद्घाटन कार्यक्रममै झापड हानेर चर्चामा आएका मनाङेले बुधबार पोखरामा पत्रकार सम्मलेन गरेर ठगलाई झापड हान्न पाइने बताएका हुन् ।

‘मेरा १८ जना बच्चालाई अलपत्र पारेपछि झापट हानेको हुँ, ठगलाई झापड हान्न पाइन्छ’ उनले भने । उनले ठगलाई झापड नहानेर माला लगाउन त भन्दै प्रतिप्रश्न समेत गरे ।

‘ठगलाई मैले झापड नहानेर माला लगाउने त ?’, उनले भने, ‘पुलिसले यसै पक्रन मिल्दैन ।’ एन्फाका कास्कीका अध्यक्ष गुरुङले बुधबार कास्की प्रहरीमा उनी विरुद्ध उजुरी दर्ता गरेको केही समयमै उनले पत्रकार सम्मेलन गरेका हुन् ।

उनले भने, ‘हिजो सुशील कोइरालालाई पनि चप्पल हिर्काइयो, झलनाथलाई पनि झापड हानियो, उस (मिलन) लाई त मुख्यमन्त्रीले नै झापड हान्नुपर्ने हो ।’ उनले आफू रावणतिरको भएको बताउँदै झापड हान्दा मज्जा लाग्ने पनि बताए । ‘तपाईंहरु गान्धीतिरको हुनुहुँदोरहेछ । म चााहिँ रावणतिर परें’, उनले भने ।

मनाङबाट मुख्यमन्त्री कप खेल्न आएका खेलाडीलाई मिलन र एन्फाले अलपत्र पारेको उनको जिकिर थियो । उनले एन्फा अध्यक्ष कर्मा छिरिङ पनि ठग नै भएको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement