प्रदूषण बढेपछि दिल्लीमा कडा प्रतिबन्ध, कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन

प्रदूषण बढेपछि दिल्लीमा कडा प्रतिबन्ध, कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्न आइतबारदेखि थप कडा प्रतिबन्ध लागू गरिएको छ। प्रदूषण नियन्त्रणका लागि सवारीसाधनको पार्किङ शुल्क दोब्बर बनाइनुका साथै सरकारी तथा निजी कार्यालयका कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिइएको छ।

अधिकारीहरूका अनुसार नयाँ उपायको मुख्य उद्देश्य सवारीसाधनबाट हुने उत्सर्जन घटाउनु हो। तोकिएको उत्सर्जन मापदण्ड पूरा नगर्ने सवारीसाधनलाई दिल्ली प्रवेशमा रोक लगाइनेछ। यस्तै, धुलो उड्ने गरी गरिने भत्काउने कार्य तथा खुला क्षेत्रमा हुने निर्माण गतिविधिमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाइएको छ।

मुख्यमन्त्री रेखा गुप्ताको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार नोभेम्बर १ देखि दिल्लीमा ‘शीतकालीन कार्ययोजना’ लागू भएको छ। योजनामा प्रदूषण नियन्त्रणका कडा उपाय, प्रभावकारी कार्यान्वयन तथा चौबिसै घण्टा निगरानीको व्यवस्था गरिएको छ।

दिल्ली सरकारले नागरिकलाई सरकारी निर्देशन पालना गर्दै राजधानीको हावा स्वच्छ र स्वस्थ बनाउन सहयोग गर्न आग्रह गरेको छ। सरकारले पछिल्लो एक महिनादेखि नै फोहोर जलाउन रोक लगाउनुका साथै कोइला र दाउरा प्रयोग गरी खाना पकाउने सडक किनारका पसलमा समेत प्रतिबन्ध लगाउँदै आएको छ।

यद्यपि, विगतका वर्षमा लागू गरिएका यस्तै उपायले नोभेम्बरदेखि जनवरीसम्म दिल्लीमा देखिने बाक्लो धुवाँ र प्रदूषण नियन्त्रणमा अपेक्षित सफलता हासिल गर्न सकेका छैनन्। जाडोयाममा तापक्रम घट्दा प्रदूषक कणहरू जमिनको सतह नजिकै थुप्रिने भएकाले प्रदूषणको स्तर बढ्ने गर्छ।

दिल्लीको वायु प्रदूषणका प्रमुख स्रोतमा सवारीसाधनको धुवाँ, कोइलाबाट सञ्चालित विद्युत् केन्द्र, औद्योगिक गतिविधि, निर्माणस्थलबाट उड्ने धुलो तथा छिमेकी राज्यमा बाली भित्र्याएपछि खेतमा बाँकी अवशेष जलाउने कार्य रहेका छन्।

भारतको वातावरण मन्त्रालयका अनुसार जाडोयाममा दिल्लीको प्रदूषणमा सवारीसाधनको योगदान २३ प्रतिशत रहेको छ। कृषि अवशेषलगायत जैविक पदार्थ जलाउँदा २० प्रतिशत तथा कोइलाबाट सञ्चालित विद्युत् केन्द्रसहितका उद्योगबाट करिब नौ प्रतिशत प्रदूषण हुने गरेको छ।

वायु प्रदूषणमा पाइने पीएम–२.५ सूक्ष्म कणको मात्रा जाडोयामका मुख्य महिनामा प्रतिघनमिटर ३०० माइक्रोग्रामभन्दा बढी पुग्ने गरेको छ। फोक्सोको भित्री भागसम्म पुग्न सक्ने भएकाले यी कण मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक मानिन्छन्। यस्तो मात्रा विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेको दैनिक सीमाभन्दा करिब २० गुणा बढी हो।

गत वर्ष दिल्लीमा पीएम–२.५ को मात्रा प्रतिघनमिटर ८४६ माइक्रोग्रामसम्म पुगेको थियो। यो विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डभन्दा ५६ गुणा बढी हो।

आइतबार गरिएको मापनमा दिल्लीको पीएम–२.५ स्तर प्रतिघनमिटर २०१ माइक्रोग्राम रहेको थियो, जुन सुरक्षित सीमाभन्दा १३ गुणाभन्दा बढी हो। पछिल्ला केही दिनमा बेलाबेलामा परेको वर्षाका कारण प्रदूषणको स्तर केही घटेको हुन सक्ने अनुमान गरिएको छ।

‘द ल्यान्सेट प्लानेटरी हेल्थ’ जर्नलमा सन् २०२४ मा प्रकाशित अध्ययनअनुसार सन् २००९ देखि २०१९ सम्म भारतमा वायु प्रदूषणका कारण करिब ३८ लाख मानिसको मृत्यु भएको थियो।