भाजपाका लागि दिल्लीको जित कति महत्वपूर्ण ?

भाजपाका लागि दिल्लीको जित कति महत्वपूर्ण ?


काठमाण्डु – प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा)ले भारतको राजधानी दिल्लीमा २७ वर्षपछि निर्वाचन जित्दै सरकार बनाउने बाटाे तय गरेको छ । ७० सीट रहेको दिल्ली विधानसभामा भाजपाले ४८ सिटमा जित हासिल गर्दा अहिलेसम्म सरकार चलाइरहेको आम आदमी पार्टी (आप) २२ सीटमा समेटिएको छ ।

दिल्लीमा ३५ भन्दा बढी सीट जित्ने दलले सरकार बनाउन सक्छ । यसअनुसार भाजपाले नै सरकार बनाउने छ र सम्भवतः प्रवेश शर्मा नयाँ मुख्यमन्त्री बन्ने छन् ।

‘विकासको जीत, सुशासनको विजय’ दिल्लीमा भाजपाको जित पछि प्रधानमन्त्रीले मोदीले सामाजिक सञ्जाल एक्स मतदातालाई धन्यवाद दिँदै लेखे, ‘आफ्नो पार्टीले दिल्लीको विकासमा कुनै कसर छाड्दैन ।’

भारतीय मतदातामाझ मोदीको लोकप्रियतालाई सुदृढ बनाउन दिल्लीमा भाजपाको जीत राजनीतिक रूपमा महत्वपूर्ण रहेको विज्ञहरू बताउँछन् । भाजपाले पछिल्लो आम निर्वाचनमा भने स्पष्ट बहुमत गुमाएको थियो ।

आपका लागि यो पराजय एउटा ठूलो झट्का हो । एउटा सानो दल भए पनि सहरमा शिक्षा र स्वास्थ्य सुविधाहरू सुधार गर्न ध्यान केन्द्रित गरेकोमा दिल्लीमा सत्ता सम्हालेका प्रारम्भिक वर्षहरूमा आपको प्रशंसा हुने गरेको थियो ।

अरविन्द केजरीवारको आप पञ्जाब राज्यमा पनि सत्तामा छ । तर यतिखेर आफ्नो भविष्यबारे प्रश्नहरू उठाइएको यस दलका लागि दिल्लीको आफ्नो वर्चस्व कायम राख्नु संकटमाथिको विजय हुने थियो ।

मध्यमवर्गमा केजरीवालको भ्रष्टाचार विरोधी अडानका कारण कुनै समय चुलिएको आपप्रतिको आकर्षण एक दशकभन्दा बढी दिल्लीको सत्तामा रहेपछि घटेको छ ।

मध्यमवर्गको नेतृत्वमा भएको भ्रष्टाचारविरोधी आन्दोलनको नेतृत्व गरेका केजरीवालले गरिबको पार्टी बन्ने बाटो रोजेका थिए । गरिब र दिल्लीमा संधर्षरत मजदुर वर्गले उनलाई कहिलेबाट साथ दिन छाडे भन्ने अझै प्रस्ट भएको छैन ।

भ्रष्टाचारको आरोप, प्रमुख नेताहरू जेल पर्ने क्रम र केजरीवाल स्वयंको गिरफ्तारीले आम आदमी पार्टीको अभियानलाई क्षति पुर्‍याउँदा देखा परेको रिक्ततालाई भाजपाले तत्काल सदुपयोग गरेको छ ।

विशाल स्रोत र शक्तिशाली चुनावी संयन्त्रसहितको भाजपाले राज्य र संघीय सरकारहरू एउटै पार्टीले स्थिरता र सुशासनसहित चलाउने वाचा गरेको थियो ।

झण्डै २७ वर्षमा भाजपाले दिल्लीमा ल्याएको पहिलो बहुमत एउटा ऐतिहासिक जीत हो । दिल्लीमा पकड गुमेपछि विपक्षीहरू चिन्तामा छन् भने भाजपा उच्च मनोबलसाथ अर्को चुनावी चक्रमा प्रवेश गर्दैछ ।

आपका शीर्ष नेताहरू केजरीवाल र मनिष सिसोडिया पराजित भएपछि आपमा ठूलो निराशा छाएको छ ।

कुल ६० प्रतिशतभन्दा भन्दा बढी योग्य मतदाताहरूले मतदान गरेको निर्वाचनमा धेरैजसो एक्जिट पोलले भाजपाले पूर्ण बहुमत ल्याउने भविष्यवाणी गरेका थिए । तर विगतमा त्यस्ता भविष्यवाणीहरू गलतसमेत साबित भएका थिए ।

भाजपाको धेरैजसो प्रचार अभियान केजरीवाल लक्षित थियो । भ्रष्टाचार विरोधी अभियानकर्मी केजरीवाल मदिरा बिक्री नीति सम्बन्धी भ्रष्टाचारको मुद्दामा सिसोदियासँगै जेल परेका थिए । उक्त नीति यतिखेर खारेज गरिएको छ ।

महिनौँ जेलमा बिताएर हालसालै छुट्टाछुट्टै जमानतमा रिहा भएका उनीहरूले ती आरोपहरू अस्वीकार गर्दै आएका छन् । केजरीवाल भाजपाले आफू र आपविरुद्ध राजनीतिक प्रतिशोध लिएको आरोप लगाउँछन् । तर भाजपा त्यसलाई अस्वीकार गर्छ ।

संघ प्रशासित दिल्लीको शासन व्यवस्था अनौठो छ । सार्वजनिक सुव्यवस्था, प्रहरी र भूमि व्यवस्थापनजस्ता विषयमा मुख्य निर्णय लिने अधिकार संघीय सरकारले नियुक्त गरेका लेफ्टिनेन्ट गभर्नरसँग हुन्छ ।

राज्यसभाले शिक्षा, स्वास्थ्य र सार्वजनिक सेवाबारे निर्णय लिने अधिकार राख्छ । प्रतिस्पर्धी पार्टीले संघीय सरकार र राज्य सरकार सञ्चालन गर्दा अधिकार प्रयोगको विषयमा केन्द्र र राज्य सरकारबीच टकराब देखिने गरेको छ ।

अधिकार बाँडफाँटको यस्तो संरचनाका कारण पनि दिल्लीमा चुनावी नाराहरू राजनीतिक भन्दा बढी कल्याणकारी मुद्दामा केन्द्रित हुन्छन् । भाजपाले दिल्लीको वायु गुणस्तर सूचकांक अर्थात् एक्यूआईलाई सन् २०३० सम्ममा आधाले घटाउने वाचा गरेको छ ।

आप र भाजपा दुवैले सरकारी विद्यालयहरूमा सुधार, निःशुल्क स्वास्थ्य सेवा र महिलाहरूका लागि भत्ताको नारा अघि सारेका थिए । गत साता मात्रै सार्वजनिक भएको भारतको बजेटमा मध्यम आय भएका मानिसहरूका लागि कर छुटको घोषणा भएको थियो । मध्यम आय भएका मानिसहरूको उच्च जनसंख्या बसोबास गर्ने दिल्ली राज्यसभा निर्वाचनमा त्यसको फाइदा आफूलाई पुग्ने भाजपाको आकलन थियो ।

यद्यपि हप्तौँ लामो तिक्ततापूर्ण प्रचार अभियानमा प्रदूषणको विषय भने धेरैजसो समेटिएन । दिल्लीको पुरानो वायु प्रदूषण संकटले सहरका ३ करोड बासिन्दालाई बर्सेनि सताउँछ ।

देशको राजधानीको सहर भएका कारण पनि दिल्ली राज्यसभाको निर्वाचनलाई भाजपा र आपले प्रतिष्ठाको विषय बनाएका थिए ।

मतदाताले कल्याणकारी मुद्दालाई समर्थन गरेसँगै यहाँ सन् २०१३ यता केजरीवालको आपले सरकार चलाइरहेको थियो ।

भाजपाका लागि राजधानी सहरमा देखिएको निर्वाचन परिणाम चुनावी सफलतामा मात्रै सीमित छैन । सन् १९९८ यता राजधानीमा सत्ता बाहिर रहेको भाजपाले यो निर्वाचनसँगै राजधानीमा महत्वपूर्ण आधार पाएको छ ।

कांग्रेसले सन् १९९८ देखि २०१३ सम्म यहाँ सरकार चलाएको थियो । तर भ्रष्टाचारको आरोपपछि यहाँका मतदाताहरूले कांग्रेसलाई पाखा लगाएर आम आदमी पार्टीलाई सरकारमा पुर्‍याएका थिए ।