जोन्सनको खोपले डेल्टा भाइरसविरुद्ध ३३ प्रतिशत मात्र काम गर्ने


एजेन्सी – कोरोनाभाइरस विरुद्धको जोन्सन र जोन्सनको खोप अन्य खोपको तुलनामा निकै कम प्रभावकारी रहेको पाइएको छ । जोन्सनले बनाएको खोप एक डोज मात्रै लगाए पुग्ने बताईंदै आएको थियो ।

न्यूओर्क टाइम्सका अनुसार यो खोप पहिलो पटक भारतमा भेटिएको डेल्टा र लाम्बडा भेरियन्टविरूद्ध ३३ प्रतिशतमात्रै प्रभावकारी रहेकाे पाइएको अध्ययनले देखाएको छ ।

उक्त अध्ययन प्रयोगशालामा संकलित रगतको नमूनाबाट गरिएको भएकाले आम मान्छेको ठूलो संख्यामा खोपको प्रभावकारिता फरक हुन सक्ने रिपोर्टमा जनाइएको छ ।

यसअघि जोन्सन एन्ड जोन्सनले सानो समूहमा अनुसन्धान गरेर प्रकाशन गरेको रिपोर्टमा आफ्नो खोप लगाएको ८ महिनापछि पनि डेल्टा भेरियन्टविरूद्ध प्रभावकारी रहेको उल्लेख गरेको थियो । तर, अहिलेको अध्ययन रिपोर्टलेको ‘पियर रिभ्यू’ नभएको र यो साइन्टिफिक जर्नलमा पनि प्रकाशन हुन बाँकी रहेको समाचारमा जनाइएको छ ।

अनुसन्धानकर्ताहरूले जोन्सन एन्ड जोन्सनको खोप लगाएकाहरूले फाइजर वा मोडेर्नाको थप एक डोज खोप लगाउनु पर्न हुनसक्ने बताएका छन् । जोन्सन एन्ड जोन्सनको खोप १ करोड ३० लाखभन्दा बढी मानिसहरूले लगाइसकेका छन् ।

नेपालमा पनि अमेरिकी सरकारले अनुदानमा उक्त खोपको १५ लाख डोज दिएको छ । जोन्सन एन्ड जोन्सन खोप सोमबारदेखि नेपालमा पनि लगाउन सुरू गरिएको छ । अहिले उक्त खोप ५० देखि ५४ वर्षका नागरिकलाई लगाउन थालिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement