६९औँ प्रजातन्त्र दिवस,राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना


काठमाडौं – ६९ औँ प्रजातन्त्र दिवस, २००७ साल फागुन ७। १०४ वर्षे जहानियाँ राणा शासनको अन्त्य भएको दिनको सम्झनामा मंगलबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ। सरकारले प्रजातन्त्र दिवस भव्य रूपमा मनाउन लागि रहेको छ।

यसै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति विद्या भण्डारीले प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसात गर्दै अघि बढ्ने उत्प्रेरणा प्रदान गरोस् भन्दै शुभकामना दिएकी छन्।

‘निरङ्‌कुश जहानियाँ राणाशासनको अन्त्य भई जनताले राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष प्रजातन्त्र दिवस मनाउने गरेका छौँ, राष्ट्रपति कार्यालय शीतल निवासबाट जारी विज्ञप्तिमा भनिएको छ, प्रजातन्त्र बहाली र संस्थागत गर्ने क्रममा हामीले अभूतपूर्व उपलब्धि हासिल गरेका छौँ। संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको संघर्षको प्रतिफल हो।

प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै उपराष्ट्रपति नन्दबहादुर पुनले स्थायी शान्ति, दिगो विकास र आर्थिक समृद्धिका लागि अग्रसर हुन सबै तहका सरकार, राजनीतिक दललगायत सरोकार भएका पक्षलाई आग्रह गरेका छन्। यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौँदेखिको विकास र समृद्धिको नेपाली चाहना अब पूरा हुने विन्दुमा आइपुगेको बताएका छन्।

वर्तमान सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यका साथ आर्थिक एवं सामाजिक रूपान्तरणका लागि केन्द्रित छु, ओलीको शुभकामना सन्देशमा उल्लेख छ, निरङ्कुशतन्त्र र अधिनायकवादलाई परास्त गर्ने हामी अब गरीबी, बेरोजगारी, पछौटेपन, विभेद र अविकाशका विरुद्ध केन्द्रित भएका छौँ। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानको मर्मअनुरूप सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै सरकारले लिएको दीर्घकालीन लक्ष्य समृद्ध नेपाल, सुखी नेपालीलाई साकार पार्न समावेशी लोकतन्त्रमा जोड दिनुपर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement