डेङ्गुको सङ्क्रमण बढ्दो: यी हुन् लक्षण र बच्ने उपाय


काठमाण्डु- काठमाण्डु उपत्यकासँगै देशका विभिन्न ठाउँमा डेङ्गु ज्वरोका बिरामी बढेको पाइएको छ । लामखुट्टे धेरै पाइने तराई–मधेश तथा पहाडी क्षेत्रमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको हाे । विशेष गरी जनघनत्व बढी भएका काठमाण्डु उपत्यका, पोखराजस्ता सहरमा डेङ्गुज्वरोका बिरामी बढिरहेका छन् ।

डेङ्गुका बिरामीको संख्या बढ्न थालेसँगै उपत्यकाका अस्पतालमा बिरामीले शय्या भरिन थालेका हुन् ।  त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, वीर अस्पताल, टेकु अस्पतालमा डेङ्गुका बिरामीलाई भर्ना गरेर राखिएका छन् । यसैबीच सोमबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा एक जनाको डेङ्गुका कारण मृत्यु भएको छ ।

३५ वर्षीय युवकको डेङ्गुका कारण मृत्यु भएको अस्पतालका उपनिर्देशक डा. सुवास आचार्यले दिएको जानकारी दिएका छन् । शिक्षण अस्पतालको आकस्मिक कक्षमा आउने अधिकांश बिरामी डेङ्गुको लक्षण लिएर आउने गरेका छन्।

उच्च ज्वरो, थकान, जोर्नी दुख्ने, आँखाको गेडी सुन्निने जस्ता लक्षण लिएर आउने अधिकांश बिरामीमा डेङ्गु पुष्टि भएको छ । अस्पतालका उपनिर्देशक डा. आचार्यले शिक्षण अस्पतालको आकस्मिक वा ओपीडीमा आउने अधिकांश बिरामीमा डेङ्गु पुष्टि भएको बताए । उनका अनुसार डेङ्गु पुष्टि भएर घरमै आराम गरी बस्ने बिरामीको सङ्ख्या सयौँ छ ।

हाल शिक्षण अस्पतालमा भर्ना भएका डेङ्गुका बिरामी ११ जना रहेका छन्। टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २२ जना बिरामीलाई भर्ना गरेर राखिएको छ । तीमध्ये चार जनालाई आईसीयूमा राखिएको छ । टेकु अस्पतालमा डेङ्गुका बिरामीलाई शय्या पाउनै मुस्किल छ ।

डेङ्गुका लक्षण र बच्ने उपाय:

डेङ्गु एक प्रकारको ज्वरो हो । यसलाई लामखुट्टेको टोकाइकबाट सर्ने संक्रामक रोग भनिन्छ । डेङ्गुको भाइरसबाट संक्रमित भएको एडिस रजिस्टाइ जातको पोथीले यो रोग सार्छ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बढी पाइने गर्दछ ।

उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर , घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेङ्गुका लक्षण हुन् । डेङ्गु ज्वरो सञ्चो हुने बेलामा शरीरमा राता दाग पनि देखा पर्छन् ।

गम्भीर प्रकृतिको डेङ्गु सङ्क्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट खुट्टा सुनिने जस्ता लक्षण देखा पर्छन् ।

एकैठाउँ जमेर रहेको सङ्लो पानीमा डेङ्गु सार्ने लामखुट्टेले अन्डा पार्ने गर्छ । त्यसैले धेरै समय बाहिर खुला रुपमा पानी राख्न हुँदैन । डेङ्गुको रोकथाम गर्नु भनेको लामखुट्टेको टोकाइबाट बच्नु हो ।

साँझा–बिहान लामखुट्टेको टोकाइबाट बच्न सतर्क रहनुपर्छ । घरमा जालीढोका लगाउने, झुल टाँगेर सुत्ने, साँझा–बिहान सकेसम्म बाहिर ननिस्कने तर निस्कनै परे लामा बाहुला भएका लुगा लगाउने वा लामखुट्टे भगाउने क्रिम लगाएर हिँड्ने गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement