काठमाण्डु – मनसुन लागेसँगै डेङ्गी संक्रमण देखिन थालेको छ ।
जुनदेखि अगस्टसम्म (असार–भदौ) सम्मलाई डेङ्गी संक्रमणको जोखिम कायम रहने समयका रूपमा लिइन्छ ।
यस वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा धेरै पानी पर्ने सम्भावना रहेको हुँदा स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले डेङ्गीको संक्रमणमा वृद्धि देखिन सक्ने अनुमान गरेका छन् ।
अघिल्लो वर्षको तुलनामा संक्रमण घटेको पाइए पनि वर्षाको समयमा सावधानी नअपनाइए महामारीको जोखिम हुने अधिकारीहरू बताउँछन् । नेपालमा सन् २००४ मा पहिलोपटक संक्रमण देखापरेको अधिकारीहरू बताउँछन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्यांकअनुसार जनवरी १ देखि जुन ८ सम्म १ हजार २५५ संक्रमित भेटिएका छन् भने ७२ वटा जिल्लामा डेङ्गी संक्रमण पुष्टि भइसकेको छ । तर जनवरीयता डेङ्गीकै कारण संक्रमितको मृत्यु भएको नपाइएको अधिकारीहरू बताउँछन् ।
सबैभन्दा धेरै प्रभाव बागमती प्रदेशमा देखिएको छ । महाशाखाको विवरणअनुसार बागमतीपछि क्रमशः कोशी, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र मधेशमा धेरै मानिसहरूमा डेङ्गी संक्रमण देखापरेको छ ।
यस्तै सबैभन्दा धेरै संक्रमितको संख्या काठमाण्डुमा देखिएको छ । काठमाण्डुमा १३२, कास्कीमा ९०, सुनसरीमा ८७, चितवनमा ६१, पाल्पामा ५१, रुपन्देहीमा ४७, कञ्चनपुरमा ३७, दाङमा ३२ र भक्तपुरमा ३० वटा संक्रमित भेटिएका छन् । तर मनाङ, महोत्तरी, रसुवा, डोल्पा र हुम्ला गरी ५ जिल्लामा भने जनवरीयता संक्रमण देखापरेको छैन ।
ईडीसीडीका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले डेङ्गीलाई शून्यमा नै ल्याउने र डेङ्गी गराउने लामखुट्टे सखाप नै पार्न भन्ने अवस्था सिर्जना गर्न नसकिए पनि नियन्त्रण भने गर्न सकिने बताउँछन् ।
डा. दाहालले यो वर्ष मनसुन छिट्टै सुरु भएको र मौसमविद्ले पानी धेरै पर्न सक्ने आकलन गरेकाले संक्रमण बढ्न सक्ने सम्भावना रहने सक्ने बताए ।
डेङ्गी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो । डेङ्गीबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ ।
यसबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्यांकी पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग गर्नाले पानी जम्मा गरी राखिएका पानीको ट्यांकी, ड्रम, गाग्री, बाल्टिनलाई लामखुट्टे छिर्न नपाउने गरी राम्रोसँग छोपेर राख्ने, आफ्नो घर वरपर, कार्यस्थल र सार्वजनिक स्थानमा फाएिका काम नलाग्ने भाँडाकुँडा, सिसी, बोतल, टिका बट्टा, प्लास्टिकजन्य वस्तुहरु तथा पानी जन्म नसक्ने अन्य भाँडा तथा सामग्रीलाई पानी नजम्ने गरी व्यवस्थापन गर्न विज्ञको आग्रह छ ।
डेङ्गीका कतिपय बिरामीमा कुनै पनि लक्षण नदेखिने हुँदा वास्तविक संक्रमणको तुलनामा तथ्यांक कम देखिन सक्ने कतिपय विज्ञहरू बताउँछन् ।
डेङ्गी सर्छ कि सर्दैन ?
यो लामखुट्टेबाट सर्ने भाइरसजन्य संक्रमण हो । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार संक्रमित लामखुट्टेबाट यो रोग मानिसमा सर्छ ।
विश्वको लगभग आधा जनसंख्या डेङ्गीको जोखिममा रहेको र हरेक वर्ष १० करोडदेखि ४० करोड मानिसमा यसको संक्रमण देखिने गरेको डब्ल्यूएचओ आँकडा छ ।
कति घातक
सामान्यतः जोखिमपूर्ण नभए पनि कतिपय जटिल लक्षणहरू देखिए भने यसले मानिसको जीवनमा खतरा उत्पन्न गराउन सक्ने विज्ञहरू बताउँछन् ।
खासगरी लामखुट्टेका माध्यमले एउटा व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भए पनि भाइरसजन्य रोग भएकाले अन्य भाइरसजन्य रोगमा देखिने प्रकृतिकै लक्षणहरू देखा पर्छन् । सामान्यतया अस्पताल नै भर्ना हुनुपर्नेजस्ता लक्षणहरू देखा पर्दैनन् । सामान्य डेङ्गीमा ज्वरो तथा वान्ता आउने जस्ता लक्षण देखिन्छन् तर गम्भीर संक्रमण भएका कतिपयमा अत्यधिक ज्वरो तथा बान्ता आउने, पेट दुख्ने, आन्तरिक तथा बाह्य रक्तश्रावका लक्षणहरू देखा पर्छन् ।
डेङ्गी हुँदा उपचार गर्ने छुट्टै विधि छैन । दुखाइसहितका लक्षणका आधारमा बिरामीको उपचार गरिन्छ । बिरामीलाई ज्वरो आउँदा सिटामोल र झाडापखाला लाग्दा जीवनजल दिने र शरीरमा पानीको मात्रा कम हुन नदिने जस्ता उपाय अवलम्बन गरिन्छ ।
संक्रमण भएको अवस्थामा गरिष्ठ खानेकुराभन्दा नरम, रेसादार, झोलिलो पदार्थ वा शरीरको प्रतिरोधात्मक क्षमता बढाउन सघाउने खालका भोजन आवश्यक पर्ने स्वास्थ्यकर्मीहरू बताउँछन् ।
प्रतिक्रिया