काठमाण्डु – नेपाली कांग्रेसका नेता दीपक खड्काले शक्तिको बलमा नेपाल स्काउटको जग्गा मिचेका छन् । खड्काको लगानी रहेको खड्का डेभलपमेन्ट प्रालिले नेपाल स्काउटको लैनचौरस्थित ३ रोपनी जग्गा र पार्किङस्थल कब्जा गरेको खुलासा यसअघि नै भएको थियो ।
उनलाई जग्गा कब्जा गर्न अदालत र स्काउटकै पदाधिकारीले सहयोग गरेका थिए । खड्काले उनिहरुसंगको मिलेमतोमा करार अवधिलाई १५ वर्ष बनाएका थिए ।
स्काउटले आफ्नो जग्गा खड्का डेभलपमेन्ट प्रालिले सम्झौताविपरीत भोगचलन गर्दै आएको दावी गरेको छ । उसले गोरखापत्रमा सूचना प्रकाशित गर्दै मुलुकी देवानी संहिता २०७४ को परिच्छेद १२ दफा ६१९ बमोजिम ३५ दिनभित्र स्थान खाली गरी, बाँकी रहेको हरहिसाबसमेत हरफार गरी, नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा जानकारी गराउन भनेको छ ।
२०७९ असार १३ को उच्च अदालत पाटनको फैसलाका आधारमा खड्का लैण्ड प्रालिले उक्त जग्गा खाली गर्नुपर्ने पनि नेपाल स्काउटको भनाइ छ । खड्काको कम्पनीसंग स्काउटको सम्झौता २०७५ मा सकिएको भएपनि उनले पावरको बलमा जग्गा भोगचलन गर्दै आएका छन् ।
खड्का संखुवासभाबाट निर्वाचित सांसद हुन् । उनि पूर्व राज्यमन्त्री समेत हुन । व्यापारी पृष्ठभुमिका सांसद खड्काले शक्तिको बलमा स्काउटको सम्पतीमाथि आंखा गाडेको आरोप लाग्दै आएको छ ।
सरकारले सरकारी जग्गा कब्जा गर्ने भुमाफियालाई कार्वाही गर्ने दावी गरेपनि खड्कालाई भने अहिलेसम्म कुनै कार्वाही हुन सकेको छैन । उनिमाथि डेढ रोपनी जग्गा हड्पेर अवैधानिक रुपमा ७ रोपनी जग्गा कब्जा गरेको आरोप छ ।
खड्काको कम्पनीले त्यतिमात्र हैन त्यही जग्गामा ब्यांकेट समेत खोलेका छन् । जुन अवैधानिक समेत छ । ब्यांक्वेटको नक्सापास र संचालन अनुमति नभएको र पार्किङको जग्गामा बाइक सर्भिस सेन्टर खोलेर अवैध काम गरेको स्काउटले दावी गर्दै आएको छ ।





प्रतिक्रिया