काठमाण्डु- जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले काठमाण्डुसहित ४५ जिल्लामा बाढीको जोखिम देखिएको जनाएको छ।
बाढी महाशाखाले जारी गरेको विज्ञप्तिअनुसार बुधबार इलाम, पाँचथर, तेह्रथुम, खोटाङ, ओखलढुंगा, रामेछाप, ताप्लेजुङ, धनकुटा, भोजपुर, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, खोटाङ, काभ्रे, मकवानपुर, काठमाण्डु, ललितपुर, भक्तपुर, गोरखा, धादिङ, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, नवलपुरपूर्व, नवलपुरपश्चिम, चितवन, अर्घाखाँची, पाल्पा, रुपन्देही, बाँके, दाङ, प्युठान, जाजरकोट, बैतडी, दार्चुला, बझाङ, बाजुरा, डोटी, डडेलधुरा र आसपासका जिल्ला भई बहने अधिकांश ससाना नदीहरूमा बहाब सामान्य बढ्ने पूर्वानुमान छ । महाशाखाले ती क्षेत्रका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउनआग्रह पनि गरेको छ ।
बाढी महाशाखाले आगामी ३ दिन कोसी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूका साथै पूर्वी राप्ती, पश्चिम राप्ती, कन्काई, कमला, बागमती र बबई नदीको जलसतह बढ्ने अनुमान गरेको छ । साथै नारायणी नदी र यसका प्रमुख सहायक नदीहरूको जलसतह पनि बढ्ने अनुमान महाशाखाले गरेको छ ।
यी जिल्लामध्ये सिन्धुपाल्चोकसहित १८ वटालाई पहेँलो रङ अर्थात् एल्लो वारेन्ट जारी गरिएको छ । यो सूचीमा संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, खोटाङ, काभ्रे, मकवानपुर, तनहुँ, लमजुङ, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, नवलपुरपूर्व, नवलपुरपश्चिम र चितवन छन्।
पहेलो रङले जलसतह सतर्कता तह आसपास पुग्ने र बाढीको मध्यम जोखिम रहेको संकेत गर्छ। यस्तै हरियो रङले जलसतह सतर्कता तहभन्दा तलै रहने र बाढीको न्यून जोखिम हुने संकेत गर्छ भने सुन्तला रङले जलसतहले सतर्कता तह पार गर्ने र बाढीको उच्च जोखिम रहेको संकेत गर्छ। रातो रङले जलसतहले खतरा तह पार गर्ने र बाढीको अति उच्च जोखिम हुने संकेत गर्छ।

प्रतिक्रिया