देशभर बाढी र पहिरोको विनाश : १८ को मृत्यु, ७ बेपत्ता, कहाँ के भयो ?


काठमाडौं – बिहीबारदेखि सुरु भएको अविरल वर्षाका कारण पहाडमा पहिरो गएको छ भने काठमाडौं उपत्यका र तराई डुबानमा परेका छन् । शुक्रबार रातिसम्म १८ जनाको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको छ । सात बेपत्ता छन् । मृतक र बेपत्ताहरूको संख्या थपिने क्रम जारी छ । गृहका अनुसार काठमाडौं र खोटाङमा तीन–तीनजनाको मृत्यु भएको छ । त्यस्तै, झापा, काभ्रे र भोजपुरमा दुई–दुईजनाको मृत्यु भएको छ । पर्सा, रामेछाप, सिन्धुली, ललितपुर, धादिङ, ओखलढुंगा, बारा र मकवानपुरमा एक–एकजनाको मृत्यु भएको छ ।

विपद्मा उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाबाट विशेष टिम परिचालन गरिएको छ । उपत्यकामा डुबान भएका क्षेत्रमा डुंगासहित नेपाली सेना र सशस्त्र प्रहरीको टोली खटिएको छ । तराईमा पनि सेना र सशस्त्र प्रहरीका विशेष टोली खटिएका छन् । पहाडी जिल्लाहरूका लागि पनि उद्धारमा सुरक्षा टोलीहरू राखिएको गृह मन्त्रालयले जनाएको छ ।

अविरल वर्षाका कारण काठमाडौं उपत्यकामै चारको ज्यान गएको छ । काठमाडौंको मूलपानीमा पर्खालमा पुरिएर एकै परिवारका तीनजनाको मृत्यु भएको छ भने ललितपुरमा पहिरोमा पुरिएर एकजनाको ज्यान गएको छ । काठमाडौंको कागेश्वरी मनहरा– ६ टहरामा बस्दै आएका २० वर्षीया निलु यादव, ३५ वर्षीया शर्मिला यादव र १० वर्षीय कुन्दन यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । बलराम खत्रीको घरको पर्खाल भत्किँदा टहरामा बस्दै आएका उनीहरू च्यापिएका हुन् । बारा स्थायी घर भएका उनीहरू काठमाडौंमा ज्यालादारी काम गर्थे । त्यस्तै, ललितपुरमा बागमती नगरपालिका–२ मा पहिरोले घर पुरिँदा सुरज जिम्बाको मृत्यु भएको हो ।

निरन्तरको वर्षापछि तराईका २३ वटै जिल्ला प्रभावित भएका छन् । पहाडका पनि मध्य र पूर्वी क्षेत्रका जिल्ला प्रभावित छन् । कुनै न कुनै रूपमा देशभर नै असर परेको छ । बिहीबार र शुक्रबार गरेर बाढी, पहिरो तथा डुबानमा १८ जनाको मृत्यु भएको छ, १३ घाइते छन्, सातजना बेपत्ता छन् । चार सय ३५ परिवार विस्थापित भएका छन् । एक सय ५३ भन्दा धेरैको उद्धार भएको छ । तराईमा सप्तकोसी र कमला नदी बस्तीमा छिरेको छ । राजमार्गहरू १२ ठाउँमा अवरुद्ध छन् । राजमार्ग खुलाउने प्रयास भइरहेको छ । यो समाचार आजको नयांपत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement