नेपाली सेनाले विस्फोटक पड्काउन प्रयोग गरिने डेटोनेटर किन्ने


काठमाडौं – विस्फोटक पड्काउन प्रयोग गरिने डेटोनेटर किन्न नेपाली सेनाले प्रक्रिया अघि बढाएको छ ।  हाइड्रोपावर कम्पनी, सडक निर्माणलगायत परियोजनाले सेनाबाट उत्पादित विस्फोटक पदार्थ प्रयोग गर्दै आईरहेका छन् ।

तीन महिनाभित्र २८ लाख डेटोनेटर ल्याउने गरी प्रक्रिया बढाइएको सैनिक स्रोतले जनाएको छ । सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत सेनाले डेटोनेटर किन्न लागेको हो । डेटोनेटर किन्न सार्वजनिक बोलपत्रमार्फत खरिद प्रक्रिया टुंग्याइएको छ ।

विस्फोटकसँगै डेटोनेटर किन्दा व्यवसायीलाई सस्तो पर्ने नेपाली सेनाले जनाएको छ । सेनाले मकवानपुरको सुनाचुरीस्थित इमल्सन प्लान्टबाट विस्फोटक उत्पादन गर्दै आएको छ । उसले आफूले उत्पादन गरेको विस्फोटकको बजार प्रवद्र्धन सहज बनाएको छ ।

उसले सुनाचुरीसहित बाँकेको सल्यानगरस्थित स्टोर, महोत्तरीको बर्दिवासस्थित स्टोर र चितवनबाट विस्फोटक पदार्थ वितरणको तयारी छ । सुनाचुरीमा दुईवटा प्लान्टले विस्फोटक पदार्थ उत्पादन गरिरहेका छन् ।

सेनाको उत्पादन कमसल रहेको आरोप लाग्दै आएको थियो । प्लान्ट नहुँदा विगतमा धेरै विस्फोटक पदार्थ उत्पादन भएको थिएन । सेनाले विस्फोटक पदार्थमा आत्मनिर्भर हुन उत्पादन गर्ने नयाँ प्लान्ट चीनबाट किनेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement