सभापति देउवासामु सूर्यदर्शन सहकारी पीडितको हारगुहार : जनताले आत्मदाह गर्नुपर्ने हो ?

सभापति देउवासामु सूर्यदर्शन सहकारी पीडितको हारगुहार : जनताले आत्मदाह गर्नुपर्ने हो ?


पोखरा – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर पोखराको सूर्यदर्शन सहकारी पीडितले बचतको सुरक्षणका लागि हारगुहार गरेका छन् ।

फरार रहेका जीबी (गितेन्द्रबाबू) राई समूहको सूर्यदर्शन सहकारीका पीडितले देउवालाई भेटेर समस्या समाधान गरिदिन आग्रह गरेका छन् ।

नेपाली कांग्रेस कास्की जिल्ला सम्मेलनमा सहभागी हुन मंगलबार पोखरा पुगेका देउवालाई भेटेर सूर्यदर्शन बचत पीडित संघर्ष समितिले ध्यानाकर्षण पत्र बुझाएको छ ।

पीडितले बुझाएको ज्ञापन पत्रमा भनिएको छ, ‘अब के यो समस्या समाधानका लागि पोखरेली जनताले पोखराको बीच बजारमा आत्मदाह गर्नुपर्ने हो, उपचारका लागि अस्पतालमा छट्पटाइरहेका बिरामी काफी छैनन् र … ?’

पोखरास्थित सूर्यदर्शन सहकारीले १ अर्ब ११ करोड १ लाख रुपैयाँ बचत फिर्ता नगरेको प्रहरीको अनुसन्धानले देखाएको छ । सहकारीविरुद्ध १ हजार ३७ जना बचतकर्ताले प्रहरी कहाँ उजुरी दिएका थिए । पोखरा महानगरपालिकाले गरेको अध्ययनमा १ अर्ब ३१ करोड ५३ लाख ८२ हजार रुपैयाँ अपचलन भएको देखिएको थियो तर बचतकर्ताले दाबी गरेको रकमअनुसार प्रहरीले प्रतिवेदन तयार पारेको छ । सहकारीमा १८ हजार ७०० वटा खाता छन् ।

सूर्यदर्शन सहकारीको आर्थिक हिनामिनामा संलग्न उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, सञ्चालक समिति सदस्य भविश्वर अर्याल र पूर्व सञ्चालक समिति सदस्य शिवबहादुर गुरुङ पुर्पक्षका लागि थुनामा छन् ।

यीसहित १९ जनामाथि सूर्यदर्शनको पैसा हिनामिना गरेको आरोप छ । पूर्व अध्यक्ष जीबी राई, वर्तमान अध्यक्ष थानबहादुर बुढा, सञ्चालक धीरजकुमार दास, मनोज नकर्मी, हेमन्त अधिकारी, आइस्मा गुरुङ, प्रमोद भट्टराई, सुरज श्रेष्ठ, कविता तामाङ, सागर केसी, दिनेश रोका, ललिता तामाङ लगायत १५ जना फरार छन् ।