स्थिरताका लागि सरकार बनेको हो : देउवा

स्थिरताका लागि सरकार बनेको हो : देउवा


काठमाण्डु- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुई ठूला दल कांग्रेस र एमाले एक भएर राजनीतिक स्थिरता दिने प्रयास गरेको बताएका छन् ।

पोखरामा मंगलबारदेखि सुरु भएको जिल्ला पार्टी सभापति र जिल्ला प्रशिक्षण प्रमुखहरूको लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै देउवाले राजनीतिक स्थिरताका लागि एमालेसँग मिलेर सरकार बनाएको बताए । ‘पहिलेदेखि नै दुई पार्टी लोकतन्त्र स्थापनाका लागि लडेको हुन्’, देउवाले भने, ‘अहिले स्थिरताका लागि सँगै सरकार बनाएका हुन् ।’

उनले देशको विकासका लागि ओली स्पष्ट भएपछि सँगै गठबन्धन गरेको बताए । देउवाले देशमा जुन विकास हुनुपर्ने हो, त्यस गतिमा नभएकोले अझै गर्न बाँकी रहेको बताए ।

‘केही समस्या आउन सक्छन् । यसलाई समाधान गर्दै जानुपर्ने हुन्छ । स्थिरता भयो भने नेपालको विकास अझै धेरै हुन्छ भन्ने विश्वास छ । जुन विकास हुनुपर्ने हो भएको छैन,’ उनले भने ।

देउवाले प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा पनि गरेका छन् । ‘ओली र मसँगै जेलमा बसेको साथी हौँ । धेरै दुःख, कष्ट थियो, छुट्ने सम्भावना हुँदैनथ्यो,’ उनले भने, ‘झापा काण्डको कारण देखाएर जेलभित्र पनि राखियो । हामी मुख्य प्रतिस्पर्धी हौँ, तर पनि केपी ओलीलाई अविश्वास गर्नुपर्ने कुरा छैन ।’

ओली झापा कान्डमा लामो समय जेल बसेको चर्चा गर्दै देउवाले भने, ‘उहाँले पनि धेरै दुःख गर्नुभएको छ ।’

देउवाले विद्यार्थीकालमा पोखरामा आउँदा माछापुच्छ्र्रे हिँउले छोपेको याद ताजै रहको भन्दै थपे, ‘अहिले क्लाइमेट चेन्जले गर्दा हिमाल कालो भएको छ ।’