कञ्चनपुर- दोधारा-चाँदनी जोड्ने ऐतिहासिक झोलुङ्गे पुल भत्किएपछि नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले अनुगमन गरेका छन्।
महाकाली नदीमाथिको उक्त पुलको यथाशीघ्र पुनर्निर्माण र नियमित मर्मतसम्भारको व्यवस्था मिलाउन उनले सरकारसँग आग्रह गरेका छन्।
शुक्रबार पुलको अनुगमनमा पुगेका लेखकले पुल भत्किएको घटनाले आफूलाई अत्यन्त दुःखी बनाएको बताए। उनले यो पुल दोधारा चाँदनी वा कञ्चनपुरको मात्र नभई सिंगो देशकै ऐतिहासिक सम्पदा भएको उल्लेख गरे।
कुनै समय दोधारा चाँदनीका बासिन्दालाई नेपालको अन्य भूभागसँग जोडिन भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको स्मरण गर्दै लेखकले पुल निर्माणपछि उक्त क्षेत्रलाई देशका अन्य भागसँग प्रत्यक्ष रूपमा जोड्न महत्वपूर्ण योगदान पुगेको बताए।
२०५६ सालमा कञ्चनपुरबाट पहिलो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उनले तत्कालीन प्रतिनिधिसभामा महाकाली नदीमा झोलुङ्गे पुल निर्माण गरेर दोधारा चाँदनीलाई जोड्नुपर्ने प्रस्ताव राखेको उनले बताए। त्यतिबेला कतिपयले यस्तो पुल निर्माण असम्भव भन्दै ठट्टासमेत गरेको उनले स्मरण गरे।
तर, नेपाल सरकारको बजेट, नेपाली प्राविधिक र नेपाली निर्माणकर्ताको प्रयासबाट पुल निर्माण गर्न सफल भएको उनको भनाइ छ। उनले यस पुलको निर्माणले नेपालमा लामो दूरीका झोलुङ्गे पुल निर्माण गर्ने प्रविधिको विकास र विस्तारमा समेत योगदान पुर्याएको बताए।



प्रतिक्रिया