काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हिमाल र पहाड बचाउन जरुरी रहेको बताएका छन् ।
मंगलबार पार्टीको आपूर्ति तथा उपभोक्ता विभागको बजेट सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले पहाड बचाएर वृक्षरोपण लगायतका कुरामा ध्यान दिनुपर्ने बताएका हुन् ।
उनले भने, ‘जलवायु परिवर्तन भइरहेको छ । हामीले हिमाल बचाउन जरुरी छ । पहाड बचाउन जरुरी छ, पहाड बाँचे हाम्रो अस्तित्व पनि बाँच्दछ । हामीले वृक्षरोपण लगायतका कुरामा ध्यान दिनुपर्नेछ । नेपाललाई बढीभन्दा बढी हराभरा बनाएर जलवायु परिवर्तनलाई रोक्न सक्छौं ।’
नेपाल आयातको भरमा टिकेको बताउँदै क्वालिटीमा जानुपर्ने उनले बताए । उनले सरकारले व्यापार गर्ने होइन, उद्योग खोल्ने होइन, उद्योगपतिले उद्योग खोल्ने, व्यापारीले व्यापार गर्ने कुरा भएकाले यसमा सरकारले सहयोग गर्ने बताए ।
उनले भने, ‘सरकारले व्यापार गर्ने होइन, उद्योग खोल्ने होइन, उद्योगपतिले उद्योग खोल्ने, व्यापारीले व्यापार गर्ने कुरा हो, सरकारले सहयोग गर्ने मात्रै हो । त्यसैले व्यापारीहरू व्यापार गर्नुस्, उद्योगीहरू उद्योग खोल्नुस्, के–के सहयोग चाहिएको हो हामी सहयोग गर्छौं । हाम्रो देश ठूला २ देशको बीचमा छ । त्यसैले उत्पादन राम्रो नहुन सक्छ, त्यसैले क्वालिटीमा जानसक्यौं भने हाम्रो कुरा बिक्छ ।’
महामन्त्री गगन थापाले सरकारले संविधान संशोधनलाई प्राथमिकता राखेको बताए । उनले कांग्रेस र एमालेले संविधान संशोधन, सुशासन र नेपालको अर्थतन्त्र सुधारको लागि जोखिम उठाउने सम्झौता गरेर सरकार बनाएको बताए ।
उनले भने, ‘हामीले जोखिम उठाएर अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्छाैं भन्ने वाचा थियो । त्यहीँ अनुसार गाली खाएर अध्यादेशमार्फत लगानीको वातावरण बनाएका हौं । त्यो सामान्य जोखिम हो, त्योभन्दा ठूलो जोखिम उठाउनुपर्नेछ ।’
प्रतिक्रिया