सार्वजनिक यातायात सुधारमा कांग्रेस गम्भीर छ : सभापति देउवा

सार्वजनिक यातायात सुधारमा कांग्रेस गम्भीर छ : सभापति देउवा


काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सार्वजनिक यातायातको क्षेत्रमा देखिएका समस्याको समाधानका लागि लोकतान्त्रिक सोच भएका व्यवसायीहरूसँग सहकार्य आवश्यक रहेको बताएका छन् ।

लोकतान्त्रिक यातायात व्यवसायी संघको पदस्थापन कार्यक्रममा बोल्दै देउवाले दुर्घटना न्यूनीकरण र सुरक्षित यात्राको सुनिश्चितताका लागि यातायात व्यवसायीहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरेका हुन् ।

उनले भने, ‘दुर्घटना न्यूनीकरणको दिशा र सुरक्षित यात्राको सुनिश्चितताका लागि यातायात व्यवसायीहरूको भूमिका महत्त्वपूर्ण छ । यातायात क्षेत्रमा देखिएका विविध समस्याको समाधान गर्न लोकतान्त्रिक यातायात व्यवसायी संघको अथक प्रयास र सहकार्य हुन आवश्यक छ ।’

सभापति देउवाले लोकतान्त्रिक मूल्य मान्यताप्रति आस्था राख्ने व्यवसायीहरूको हकहितका लागि नेपाली कांग्रेस सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापाले पनि सार्वजनिक यातायात सम्बन्धी सवालका जवाफ दिन कांग्रेस तयार रहनुपर्ने बताए ।

‘नेपाली कांग्रेस राष्ट्रिय पार्टी र शक्ति भएकाले प्रश्नहरूको जवाफ दिनुपर्छ । सार्वजनिक यातायातका विषयमा उठेका तमाम सवालहरूको उत्तर कांग्रेससँग के छ भन्ने जिज्ञासा सधैं आउँछ,’ थापाले भने, ‘यी प्रश्नहरूको उत्तर दिन हाम्रो विभागले तयारी गर्नुपर्छ ।’

सार्वजनिक यातायात नीति, सुधार र दीर्घकालीन समाधानका विषयमा कांग्रेस स्पष्ट धारणा तयार पार्ने दिशामा रहेको पनि उनले उल्लेख गरे । कार्यक्रममा विभिन्न यातायात व्यवसायीहरूको उपस्थिति रहेको थियो ।