काठमाण्डु–काँग्रेस पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आगामी २६ साउनमा स्वदेश फर्कने छन् ।
जेनजी आन्दोलनमा आन्दोलनकारीको आक्रमणमा घाइते भएका देउवा उपचारका लागि गत १३ फागुनमा सिंगापुर उडेका थिए ।
पछि उतैबाट हङकङ गएका थिए । काँग्रेस नेता डा. प्रकाशरण महतले देउवा २६ साउनमा स्वदेश फर्कने तय भएको जानकारी दिए ।
बिहीबार मात्र सर्वोच्च अदालतले काँग्रेस आधिकारिकता विवादसम्बन्धी अघिल्लो फैसला पुनरावलोकन गर्न आदेश दिएको छ ।
७ साउनमा देउवाले गगन थापा नेतृत्वको कार्यसमितिलाई वैधता दिने सर्वोच्चको फैसलामा पुनरावलोकन निवेदन दिएका थिए ।
देउवाले यसअघि आफू साउन महिनाभित्रै स्वदेश फर्कने घोषणा गरिसकेका थिए । देउवा आए पनि सँगै रहेकी उनकी पत्नी आरजु राणा देउवा भने हङकङमै रहने भएकी छन् ।
‘शेरबहादुर दाई साउन २६ गते साँझ नेपाल आउनुहुन्छ’, एक नेताले काठमाण्डु पाटीसँग भने, ‘आरजु दिदी भने तत्काल आउनुहुन्न भन्ने खबर छ ।’
देउवा नेपाल आउने भए पनि आफ्नो पक्षले आयोजना गरेको राष्ट्रिय भेलामा सहभागी हुने/नहुने निश्चित छैन ।
काँग्रेसको संस्थापन इतर समूहले आगामी २९ देखि ३१ साउनसम्म राष्ट्रिय भेला आयोजना गरेको छ ।




प्रतिक्रिया