कांग्रेसमा देउवा झन् कमजोर बन्दै


काठमाडौँ – कांग्रेसभित्र नेतृत्व परिवर्तनको मुद्दा उठिरहेका बेला त्यसैलाई बल पुग्ने गरी पार्टीमा सभापति शेरबहादुर देउवाको प्रभाव खुम्चिन थालेको छ । हालै सम्पन्न तीन भ्रातृसंस्थाको निर्वाचन परिणामले देउवाको प्रभाव घट्दै गएको पुष्टि गरेको हो ।

पार्टीको प्रभावशाली तथा सदस्य संख्या ठूलो भएको भ्रातृसंस्था ट्रेड युनियन कांग्रेसमा देउवाविरोधी खेमा एकलौटी विजयी भएको छ । १७ पदाधिकारीसहित ४१ पदमा शुक्रबार भएको निर्वाचनमा देउवापक्षीय प्यानलबाट एक सदस्य मात्रै निर्वाचित भए । सबै पदाधिकारीसहित अन्य सदस्य संस्थापनइतर पक्षले जितेको छ ।

डेढ महिनायता भएका अधिवेशनमा पार्टीका प्रभावशाली भ्रातृ तथा शुभेच्छुक संस्था नेपाल शिक्षक संघ र निजामती कर्मचारी संघसमेत देउवाले आफ्नो पक्षमा राख्न सकेनन् । जबकि यी तीनवटै भ्रातृसंस्थामा यसअघि बहुमतसहित देउवा पक्षको नेतृत्व थियो । तीनवटै भ्रातृसंस्था संस्थापनइतर पक्षले जितेपछि देउवालाई ठूलो झड्का मात्रै लागेको छैन, कांग्रेसभित्र नेतृत्व परिवर्तनको मुद्दासमेत बलियो बन्दै गएको छ । कांग्रेस नेता रामशरण महत तीनवटा भ्रातृसंस्थाको निर्वाचनले पार्टी नेतृत्वको लोकप्रियता घटेको र नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने मुद्दा स्थापित भएको बताउँछन् ।

‘पार्टीको ठूलो पंक्ति शेरबहादुरजीको पक्षमा देखिन्न । शेरबहादुरजीकै पक्षमा रहेका राम्रा र असल मान्छेसमेत नेतृत्वको छविकै कारण बाहिर पर्ने स्थिति उत्पन्न भएको छ,’ महतले भने, ‘माथिल्लो तहका कार्यकर्ता र नेतालाई आफ्नो पक्षमा पार्न सके पनि तल्लो तहका लाखौं कार्यकर्ताको पंक्ति नेतृत्वको विपक्षमा देखिएको छ । अहिले भ्रातृसंस्थामा भएको निर्वाचन परिणाम नेतृत्वप्रतिको असन्तुष्टिकै प्रमाण हो ।’

तर देउवानिकट केन्द्रीय सदस्य एनपी साउद भ्रातृसंस्थामा पराजित हुँदैमा नेतृत्वको लोकप्रियता खुम्चने र नेतृत्व परिवर्तनको मुद्दा बलियो बन्ने कुरा अस्वीकार गर्छन् । ‘भ्रातृसंस्थाको निर्वाचन परिणाम पार्टीभित्रको शक्ति सन्तुलन र शक्ति संरचनासँग जोडिँदैन,’ उनले भने, ‘कमजोरी भएको भए विद्यमान भ्रातृसंस्थाकै निवर्तमान सभापतिको कमजोरी हुन्छ । पार्टी नेतृत्वसँग जोडिने विषय होइन ।’

नेतृत्व परिवर्तनको मुद्दा मुखरित गर्दै आएका युवा नेता गगन थापा भने अहिलेको भ्रातृसंस्थाको निर्वाचन सामान्य नभएर विशेष परिवेशमा भएको ठान्छन् । ‘यो निर्वाचन सामान्य अवस्थाको नभएर विशिष्ट अवस्थामा भएकाले यसको परिणामलाई पार्टी नेतृत्वसँगको सहमति र असहमतिका रूपमा बुझ्नुपर्छ,’ थापाले भने, ‘तीनवटा भ्रातृसंस्थाको अधिवेशनको परिणामले ठूलो पंक्ति नेतृत्व परिवर्तनको पक्षमा छ भन्ने स्पष्ट अभिव्यक्ति दिएको छ ।’ आजको कान्तिपुर दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस
Advertisement