काठमाण्डु- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्योपचार गराएर शुक्रबार थाइल्यान्डको बैंककबाट फर्कदै छन् । उनी आइतबार ‘फलोअप’का लागि थाइल्यान्ड गएका थिए ।
एक सातासम्म देशबाहिर रहेका कांग्रेस सभापति देउवा स्वदेश फर्कने भएपछि सत्ता समीकरण फेरिने सम्भावना बढेको छ ।
उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सहभापतिको जिम्मा दिएर बैंकक उडेपछि नेपालमा राजनीतिक तरंग उत्पन्न भएको छ । देउवाको बैंकक भ्रमणलाई एमालेले शंकाको नजरले हेरेको छ ।
देउवा उडेपछि कार्यवाहक सभापति खड्काले वर्तमान केपी ओली नेतृत्वको सरकारबारे नेपाली कांग्रेसले गम्भीर निर्णय लिने संकेत गरेका छन् ।
सरकारका काम गर्ने शैली बदल्नुपर्ने बताएका खड्काले सरकारका कमीकमजोरी सच्याउनु पर्ने, प्रधानमन्त्रीले शैलीलाई बदल्नु पर्ने र सरकार सञ्चालनमा देखिएका कमजोरीलाई सुधार्दै पर्ने बताएका थिए ।
यसैगरी, महामन्त्री गगन कुमार थापाले पनि आधारभूत विषयमा सम्झौता गर्नुपरे सरकारबाट बाहिरिन सकिने संकेत गरेका छन् ।
उनीहरूको भनाइलाई धेरैले सरकार परिवर्तनको पूर्वाभासको रूपमा लिएका छन् । कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि सरकारको आलोचना गरेका छन् ।
खड्का र थापाका पछिल्ला भनाइहरूले देउवा बैंककबाट स्वदेश फर्किएपछि वर्तमान कांग्रेस–एमालेको १० महिने सत्ता समीकरण फेरबदल हुने सम्भावना बढेको छ ।
समाचार स्रोतका अनुसार देउवाको अनुपस्थ्तिमा कांग्रेस उपसभापतिसमेत रहेको कार्यवाहक सभापति खड्का र महामन्त्री थापाले माओवादी केन्द्रका नेताहरू जनार्दन शर्मा र शक्ति बस्नेतसँग सम्भवित नयाँ सत्ता सहकार्यका विषयमा छलफल गरेका हुन् । यद्यपी छलफलले कुनै निष्कर्ष नलिएपनि देउवा फर्केपछि मात्र ठोस आकार लिने कांग्रेसका नेताहरू बताउँछन् ।
काठमाडौंमा बिहीबार भएको एमालेको युथ सेलिब्रेशन कार्यक्रममा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सरकार आन्तरिक दबाबमा रहेको पनि संकेत गरेका थिए ।
प्रतिपक्ष र आलोचकबाट सरकार ढल्ने हल्ला र भ्रम फिँजाउने काम भएको दाबी गरेका ओलीले भूराजनीतिक कारणले सरकारकालागि प्रतिकूल बनिरहेको भने स्पष्ट सन्देश दिए । उनको भनाइ राजनीतिक दृष्टिले अर्थपूर्ण मानिएको छ ।
यस्तै, माओवादीका अध्यक्ष पुष्पकमल दाहालले देउवा बंैकक उड्नुअघि आफूसँग फोनमा कुरा गरेको र फर्केर आएपछि भेट गर्ने बताएको खुलासा गरेका छन् । अध्यक्ष दाहालले पनि यो सरकार धेरै नटिक्ने भन्दै कांग्रेससँग नयाँ सरकार बनाउन आफू तयार रहेको बताउँदै आएका छन् ।
गभर्नर नियुक्तिमा ढिलाइ, शिक्षक आन्दोलन सम्बोधनमा आलटाल, न्यूनतम काममा समेत असक्षमता प्रदर्शन, एकपछि अर्को बदनामी कमाउने निर्णयजस्ता कारणले एमालेसँग मिलेर धेरै लामो समय जान नसक्ने देखिएको कांग्रेस नेताहरू बताउँछन् ।
असार ३० गते प्रधानमन्त्री बनेका ओलीको यो कार्यकालमा देखिने गरी काम हुन नसकेको भन्दै अब विकल्प खोज्नुपर्ने अवस्थामा कांग्रेसका नेताहरू पुगेको बताउँछन् ।
प्रतिक्रिया