चोलेन्द्रको साँठगाँठमा गजेन्द्र मन्त्री बने, देउवाको आलोचना सुरु


काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले शुक्रबार १८ मन्त्री थप्दै मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् । सरकारमा नियुक्त भएको ८८ दिनपछि मन्त्रिपरिषद विस्तार गरेका देउवाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका जेठानसमेत रहेका गैरसांसद गजेन्द्र हमाललाई मन्त्री बनाएपछि चर्को विरोध भएको छ।

देउवाले शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाका जेठाजु गजेन्द्र हमाललाई उद्योग मन्त्री बनाएका छन् । तर, प्रधानन्यायाधीशसँगको साँठगाँठमा गैरसांसदलाई मन्त्री बनाएको भन्दै उनको आलोचना सुरु भएको हो ।

चोलेन्द्रको साँठगाँठमा गजेन्द्र हमाललाई मन्त्री बनाइएको दाबी गर्दै एमाले उपाध्यक्ष भीम रावलले गठबन्धनका नेताहरूको गैरजिम्मेवार, स्वार्थी र अलोकतान्त्रिक चरित्र र व्यवहार उदांगो भएको आरोप लगाएका छन् ।

‘सर्वोच्च अदालतका प्रधानन्यायाधीशसँगको साँठगाँठमा गजेन्द्र हमाललाई मन्त्री बनाइएको खबरले प्रम देउवा र गठबन्धनका नेताहरूको गैरजिम्मेवार, स्वार्थी र अलोकतान्त्रिक चरित्र र व्यवहार उदांग भएको छ’, नेता रावलले शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत आलोचना गरेका छन्, ‘यसले नेपालको राजनीतिमा खतरनाक प्रवृत्ति र परम्परा एवम् घृणित खेललाई प्रवेश गराएको छ ।’

त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले प्रधानन्यायाधीशको सिफारिसमा मन्त्रीको गैरसांसदलाई नियुक्ति गरेर प्रधानमन्त्री देउवाले लोकतन्त्रको हत्या गरेको बताएका छन् । उनले प्रधानमन्त्रीका रूपमा देउवाले दोस्रो पटक लोकतन्त्रमाथि प्रहार गरेको आरोप लगाए ।

‘शेरबहादुरजी राजाका पालामा प्रधानमन्त्री हुँदा उहाँले पहिलो पटक लोकतन्त्रमाथि प्रहार गर्नुभयो । अहिले दोस्रो पटक प्रहार भएको छ । हमालजी जसरी मन्त्री पदमा नियुक्त हुनुभएको छ, यसबाट लोकतन्त्रलाई खतरा छ,’ उनले भने ।

कांग्रेस नेता भए पनि हमाल सांसद होइनन् । नेपालको संविधानले गैरसांसदलाई ६ महिनाभन्दा बढी मन्त्री बन्न नपाउने व्यवस्था गरेको छ । कतिपयले सर्वोच्चले यसअघि गरेको फैसलालाई लिएरसमेत टिप्पणी समेत गरेका छन् । वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले प्रधानमन्त्री देउवाको यो कार्यले लोकतन्त्र संकटमा परेको बताए ।

‘अहिले लोकतन्त्र त भन्छन् तर, लोकतन्त्रको आचरण व्यवहार अनुरुप कोही पनि चलेका छैनन । लोकतन्त्रलाई बचाउने भन्दा पनि सत्तामा बस्ने काममा नेताहरु लागेका छन्,’ उनले भने, ‘लोकतन्त्र सेकेण्डरी कुरा हो, आफू प्राइमरी हो भन्ने उनीहरुको बुझाइ छ । सरकार परिवर्तन भए पनि प्रवृत्ति एउटै छ, लोकतन्त्र, संघीयता गणतन्त्र संघीयता भन्ने गर्छन् तर उनीहरुले यो आचरणमा भन्दा जनता झुक्याउने नारा बनाएका छन् ।’

प्रधानन्यायाधीशको मागअनुसार गजेन्द्र हमाललाई मन्त्री बनाउन लागेको समाचार सार्वजनिक भएका थिए । ‘सरकारले निहुँ नै खोजेर त्यसैलाई नल्याइ नहुने, उसलाई नल्याए सरकार टिक्नै नसक्ने भन्ने किसिमको व्यवहार देखाएर जुन काम गरियो यो कुरा मुलुकको हितमा छैन । हामीले खोजेको लोकतन्त्र प्रजातन्त्रबाट नाम बदलेर लोकतन्त्र भएको छ । तर लोकतान्त्रिक मूल्य मान्यताको विपरीत छ,’ एक सामाजिक सञ्जाल प्रयोगकर्ताले भनेका छन् ।

गैरसांसद व्यक्ति हमाल अचानक मन्त्री बन्नुले यसमा न्यायालयको भूमिका कारक बन्न गएको देखिन्छ । अहिलेको मन्त्रिपरिषद्मा हमाल मात्र सांसद नभए पनि मन्त्री बन्ने पात्र हुन् ।

के भन्छन् मन्त्री हमाल ?

नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले पारिवारिक नाता सबैको हुने भन्दै त्यसतर्फ आफूलाई नजोड्न आग्रह गरेका छन् । मन्त्री नियुक्त भइसकेपछि पदवहाली गर्ने क्रममा सञ्चारकर्मीहरुले सोधेको प्रश्नमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘पारिवारिक नाता सबैको हुन्छ । मेरो राजनीतिक जीवनलाई पनि हेरियोस् । म नेपाली कांग्रेसको पृष्ठभूमिबाट आएको हुँ । मेरो परिवार नै नेपाली कांग्रेसको राजनीतिमा छ । यसलाई प्रधानन्यायनधीशसँग जोड्न मिल्दैन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement