तनहुँ- प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटधामस्थित राममन्दिर गुठीको जग्गा अतिक्रमणमा परेको छ ।
गुठीको नाममा रहेको १४९ रोपनीमध्ये करिब ३० रोपनी जग्गामा बस्ती बसालेको अनुमान गरिएको देवघाट गाउँपालिकाका प्रवक्ता एवं वडा नं ५ का वडाध्यक्ष पूर्णबहादुर कुँवरले जानकारी दिए ।
उक्त क्षेत्रमा ३७ घरका १०६ परिवारले बस्ती बसालेका छन् । उक्त जग्गा घरायसी कागजपत्रका भरमा किनबेच भइरहेको जानकारी समेत पाइएको वडाध्यक्ष कुँवरले बताए ।
उनका अनुसार गुठीको जग्गा व्यक्तिका नाममा नामसारी वा लालपुर्जा दिन नमिल्ने स्पष्ट कानुनी प्रावधान छ । तर सो क्षेत्रमा घरायसी कागज बनाएर जग्गा किनबेच गरिँदै आएकोले जग्गा खरिद बिक्री सबैलाई सूचना समेत दिइएको उनले बताए।
गाउँपालिकाले गुठीको जग्गा खाली गर्न स्थानीय बासिन्दालाई आग्रह गरेको छ । जग्गा नभएका वास्तविक सुकुम्बासीलाई भने संघीय सरकारले वैकल्पिक जग्गाको व्यवस्थापन गरी कानुनी रूपमै लालपुर्जा दिने तयारी भइरहेको उनले बताए ।
देवघाट गाउँपालिका, देवघाट क्षेत्र, स्थानीय प्रशासनको सक्रियतामा देवघाटको वेणी क्षेत्रको अतिक्रमण गरी बनाइएका १६ वटा अस्थायी टहरा भने पूर्ण रूपमा हटाइएको छ ।
त्रिशुली र कालीगण्डकीको संगमस्थल ‘वेणी’ क्षेत्र विकास समितिले सातदिने सूचना जारी गरेपछि अनधिकृत संरचना हटाइएको थियो । सार्वजनिक जग्गामा विभिन्न संघसस्था जोगी, भिक्षु, पण्डित तथा व्यवसायीले ती टहरा बनाएर उपभोग गर्दै आएका थिए ।




प्रतिक्रिया