शासन प्रणालीलाई प्रभावकारी र जनमुखी बनाउनु आवश्यक छ : सभामुख घिमिरे

शासन प्रणालीलाई प्रभावकारी र जनमुखी बनाउनु आवश्यक छ : सभामुख घिमिरे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सभामुख देवराज घिमिरेले शासन प्रणालीलाई प्रभावकारी र जनमुखी बनाउन आवश्यक रहेको बताएका छन् ।

शनिबार काठमाण्डुमा आयोजित नेपालमा निर्वाचन प्रणालीः तुलनात्मक अध्ययन पुस्तक सार्वजनिकीकरण कार्यक्रममा बोल्दै उनले निर्वाचन पद्धति र प्रणालीहरूको बारेमा विवेचना हुन जरुरी रहेको बताए ।

उनले भने, ‘हामीले के गर्‍यो भने शासन प्रणालीलाई प्रभावकारी बनाउन सक्छौं । जनमुखी बनाउन सक्छौं । यो शासन प्रणालीमा आएका समस्याहरू हुन् कि निर्वाचन प्रणालीका दोषहरू हुन् । यसलाई प्रयोग गर्ने राजनीतिक दलहरू र पार्टीहरूको भूमिकामा समस्या हो कि भन्ने जस्ता धेरै बहसहरू चलिरहेका बेला खासगरी निर्वाचन पद्धति र प्रणालीहरूको बारेमा अलि बढी विवेचना हुन जरुरी छ ।’

वर्तमान समयमा निर्वाचन प्रणालीमा बहस र छलफल गर्न सान्दर्भिक हुने उनले बताए । संविधान बनाउँदा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय परिस्थिति र देशको वस्तुगत अवस्थालाई आधार बनाइ अनुभवहरू प्राप्त गरेको बताए । संविधानको संशोधन गर्ने आवधिक समय पनि भएको भन्दै उनले अनुभवहरूलाई कार्यान्वयन गर्दै संशोधन गर्नुपर्ने धारणा राखे ।

उनले भने, ‘हाम्रो निर्वाचन प्रणालीमा बहस र छलफल गर्न सान्दर्भिक हुन्छ जस्तो लाग्छ । संविधानको संशोधनको कुरा चलिरहेका बेला संविधान बनाउँदा बखत राष्ट्रिय/अन्तर्राष्ट्रिय परिस्थिति र देशको वस्तुगत अवस्थाका आधारमा आफ्नै खालका पद्धति र निर्वाचन प्रणाली अपनाएका छौं । केही अनुभवहरू प्राप्त भएका छन् । यी अनुभवहरूलाई कार्यान्वयन गर्दै संविधानको संशोधन गर्ने आवधिक समय आइसकेको छ । अनुभवले पनि देखाएको छ । अब निर्वाचन प्रणालीका बारेमा सुधारको बहस अगाडि बढाउन जरुरी छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले निर्वाचनको समयमा समानुपातिकको सिट किनबेच भइरहेको बताइन् । समानुपातिकको सिट किनबेचलाई रोक्नको लागि निर्वाचनको समयमा हुने ठगीको अनुसन्धान गरी कारबाही गर्नुपर्ने धारणा राखिन् ।

उनले भनिन्, ‘खुलेआम ५–६ करोड निर्वाचनमा खर्च गरें भन्नेहरूलाई पनि कारबाही भइरहेको छैन । यसमा कडाइ हुनुपर्‍यो । समानुपातिकको सिट किनबेच भइरहेको छ । यसलाई रोक्नको लागि निर्वाचनको समयको अनुसन्धान गर्नुपर्छ ।’