इजरायल घटनाबारे विपक्षी दलका प्रमुख सचेतकले गरे सभामुखसँग छलफल


काठमाण्डु – प्रतिनिधि सभाका विपक्षी दलका प्रमुख सचेतकले इजरायलको घटनालाई लिएर सभामुख देवराज घिमिरेसँग छलफल गर्दै संसद्मा संकल्प वा सार्वजनिक महत्त्वको प्रस्ताव पेश गर्न माग गरेका छन् ।

हमासको आक्रमणका कारण इजरायलमा फसेका नेपालीको उद्धारमा सरकारले ढिलासुस्ती गरेकाले सदनमा गम्भीर रूपमा प्रस्तुत हुने नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए ।

‘इजरायलमा १० नेपालीको मृत्यु भएको छ । अहिले पनि धेरै नेपालीहरू बंकरभित्र भएको, खान समेत नपाएको, बाहिर कर्फ्यू भएकाले अप्ठ्यारो स्थितिमा भएको कुरा बाहिर आएको छ । यस विषयमा सरकारले गम्भीरतापूर्वक लिएर सरकारले त्यहाँ भएकालाई उपचारको व्यवस्था मिलाउनुपर्‍यो । नेपाल आउन चाहनेहरूलाई छिटोभन्दा छिटो नेपाल ल्याउने प्रबन्ध मिलाउनुपर्‍यो । भारतले आफ्ना नागरिकलाई २४ घण्टा नबिल्दै ल्याइसक्यो तर रकारले यत्रा मान्छे मर्दा केही गर्न सक्दैन,’ उनले भने ।

प्रमुख सचेतक गिरीले घाइते नेपालीको उपचारको सम्बन्धमा ठोस पहल गर्न नसकेको भन्दै सरकारलाई निकम्माको संज्ञा दिएका छन् ।

उनले भने, ‘त्यस विषयमा सदनमा गम्भीर ढंगले जानुपर्छ एउटा स्थगनको प्रस्ताव होला वा सार्वजनिक महत्त्वको प्रस्ताव हुनसक्ला, संकल्प प्रस्ताव दर्ता गरेर जाने हुनसक्ला ।’

राप्रपाले प्रतिनिधिसभा बैठकको नियमित कार्यसूची हटाएर इजरालयमा अलपत्र नेपालीको उद्धारको विषयमा छलफल चलाउन माग गरेको छ । राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही नेतृत्वको टोलीले सभामुख घिमिरेलाई भेटेर बैठकको कार्यसूची परिवर्तन गर्न माग गरेका छन् ।

इजरालयमा अलपत्र नेपालीहरुको उद्दारका लागि सरकारले विशेष टीम बनाउनुपर्ने र त्यसका लागि प्रतिनिधि सभाले रुलिङ गर्नुपर्ने राप्रपाको माग छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement