सभापति देउवाले भने : कम्युनिष्टहरु लोकतन्त्रवादी हुनु र बाघले घाँस खानु उस्तै


हेटौंडा – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्टहरु लोकतन्त्रवादी हुनै नसक्ने बताएका छन् ।

मकवानपुरको हेटौडामा सुरु भएको कांग्रेस जिल्ला सभापतिहरुको चौथो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सभापति देउवाले कम्युनिष्टहरु लोकतन्त्रवादी हुनु र बाघले घाँस खानु उस्तै भएको दाबी गरे। उनले भने, ‘कम्युनिष्टहरु लोकतन्त्रबादी हुन् भन्ने भ्रम बाघ शाकाहारी हुन्छ भन्ने जत्तिकै हो।’

सरकार भाषणमा संघीयता र काममा कम्युनिस्टको जनवादी केन्द्रीयतातर्फ उन्मुख भएको उनको दाबी छ । प्रधानमन्त्री केपी ओलीको राष्ट्रवाद पनि लम्पसारवादमा परिवर्तन भएको उनले बताए ।

संविधानको संरक्षण गर्ने र देशलाई कम्युनिस्टको अधिनायकवादवाट जोगाउने जिम्मेवारी कांग्रेसकै काँधमा आएको देउवाले बताए ।
कांग्रेसले एउटा लडाई हारेको तर, मैदान नहारेको भन्दै उनले कमजोर मानसिकता होइन, उच्च मनोबलका साथ अगाडि बढ्न आग्रह गरे ।

पार्टीभित्र केहि असतुष्टि अभिव्यक्त भएको भन्दै उनले भनेका छन कतिपय कुराहरुलाई मैले स्वभाविक रुपमा लिएको छु भने कतिपय कुरा अतिरंजित र अशोभनिय ढंगले पनि उठ्ने गरेका छन् ।’संविधान निर्माण र कार्यान्वयनलाई प्राथमिकता दिादा पार्टीको केही काम गर्न ढिलाइ भएपनि महत्वपूर्ण काम अगाडि बढेको दाबी गरे ।

‘कांग्रेसले ठूलाठूला ऐतिहासिक उपलब्धि प्राप्त गर्ने र सानासाना आग्रह पूर्वाग्रह राखेर जानी नजानी आफैंले प्राप्त गरेका उपलब्धि अवमूल्यन हुने गरी प्रस्तुत त भइसकेका छैनौं रु यसमा सबैको ध्यान जान जरुरी छ’ उनले भने । देउवाले आफ्ना लागि राष्ट्र, लोकतन्त्र र काग्रेस भन्दा प्रिय केही नभएको भन्दै बाँकी जीवन पनि यसैमा समर्पित गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement