जनकपुरधाम – धनुषा जिल्लाको विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएपछि शान्ति सुरक्षा कायम गर्न जिल्ला प्रशासन कार्यालय धनुषाले नेपाली सेना परिचालनका लागि अनुरोध गरेको छ ।
प्रमुख जिल्ला अधिकारी (सीडीओ) प्रेमप्रसाद लुइटेलले बिहीबार विष्णुदल गण महेन्द्रनगर ब्यारेकलाई पत्राचार गर्दै सेना परिचालन गर्न आग्रह गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालयका अनुसार बिहीबार दिउँसो ३:३० बजेदेखि अर्को आदेश नभएसम्म धनुषाका विभिन्न संवेदनशील क्षेत्रमा कर्फ्यू आदेश लागू गरिएको छ । कर्फ्यू क्षेत्रअन्तर्गत पूर्वतर्फ बेलौनी रोडस्थित एमक्यू स्टिलबाट ५०० मिटर पूर्वको पेट्रोल पम्पदेखि हुलाकी सडक हुँदै राष्ट्रिय प्राथमिक विद्यालयसम्म, पश्चिमतर्फ सिनुरजोडा, सोहनी, मणिमण्डप, नेपाल नर्सरी, इस्कोन जनकपुर, दुधमती पुल र बेला कादरी मस्जिद क्षेत्र, उत्तरतर्फ लक्ष्मीनिया हाटबजार चोक हुँदै सिनुरजोडा चोकसम्म तथा पूर्वमा लक्ष्मीपुर बगेवासम्म र दक्षिणतर्फ नगराइन नगरपालिका तथा नगराइन चोक आसपासका क्षेत्र समेटिएका छन् ।
सीडीओ लुइटेलले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(१)(क)(२) बमोजिम शान्ति सुरक्षा कायम गर्न नेपाली सेना परिचालन आवश्यक परेको उल्लेख गरेका छन् ।
पत्रमा सुरक्षा अवस्था नियन्त्रणमा राख्न आवश्यक परे नेपाली सेनालाई न्यूनतम सैनिक शक्ति प्रयोग गर्दै गोली चलाउनसम्मको अधिकार प्रत्यायोजन गरिएको उल्लेख गरिएको छ ।




प्रतिक्रिया