विवाहित महिलासँग सम्बन्ध राख्ने धर्मगुरुलाई बेतको छडीले हिर्काइयो


इन्डोनेसिया – इन्डोनेसियामा व्यभिचारविरुद्ध कानुन बनाउने धर्मगुरु नै व्यभिचारी ठहर भएपछि उनलाई छडीले हिर्काएर सजाय दिइएको छ ।

व्यभिचारविरुद्ध कडा कानुन बनाउन सहयोग गर्ने संस्थामा काम गर्ने धर्मगुरुलाई एक विवाहिता महिलासँग सम्बन्ध राखेको दण्डस्वरूप सार्वजनिक रूपमा बेतको छडीले हिर्काइएको बीबीसीले जनाएको छ ।

परस्त्रीसँग सम्बन्ध राखेको ठहर भएपछि आचे उलेमा काउन्सिलका मुखलिस बिन मुहम्मदलाई २८ पटक छडीले हिर्काइएको हो । उनीसँग सम्बन्ध राख्ने महिलालाई भने २३ पटक बेतको छडीले हानिएको जनाइएको छ ।

इन्डोनेशियाको आचे क्षेत्रमा कडा इस्लामिक सरिया कानुन अभ्यास गरिन्छ । आचेमा समलिङ्गी सम्बन्ध र जुवा खेलेमा पनि सार्वजनिक रूपमा कोर्रा वा छडी हानिन्छ ।

‘यो अल्लाहको कानुन हो । जो कोही पनि दोषी साबित भएमा कोर्रा खानुपर्छ,’ आचे बेसार क्षेत्रका उपप्रमुख हुसेनी वाहाबले बीबीसीसँग भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement