काठमाण्डु– पशुपति क्षेत्रमा रहेको गौशाला धर्मशाला खाली गराउनका लागि काठमाडौँ महानगरपालिकाको टोेली पुगेको छ। बुधबार दिउँसो वडा नम्बर ८ का वडाध्यक्ष आशमान संगतसहित महानगरपालिकाको टोली गौशाला धर्मशाला पुगेको हो।
महानगरपालिकाले गौशाला धर्मशालामा आफ्नो बोर्ड राखेको छ । पुरानो बोर्ड हटाएर ‘काठमाडौँ महानगरपालिकाद्वारा सञ्चालित गौशाला धर्मशाला’ लेखिएको बोर्ड राखिएको हो।
‘काठमाडौं महानगरपालिकाद्धारा सञ्चालित गौशाला धर्मशाला’ उल्लेख गरेको ब्यानर टाँग्न लाग्दा मारवाडी सेवा समितिका सदस्यहरूबीच र महानगर प्रहरीबीच ढेलमढेल भएको थियो ।
उक्त धर्मशाला महानगरपालिकाले सञ्चालन गर्नेगरी कार्यविधिको मस्यौदामाथि छलफल सुरु भएको थियो।
मंगलबार बसेको कार्यपालिका बैठकमा पशुपति गौशाला धर्मशाला सञ्चालन कार्यविधिको मस्यौदाका बारेमा छलफल थालिएको थियो।
कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा आइतबार मन्त्रालयमा बसेको बैठकले पशुपति गौशाला धर्मशाला महानगरपालिकालाई सञ्चालन गर्न दिने निर्णय भएको थियो।
पशुपतिनाथको सम्पत्ति पशुपति गौशाला धर्मशाला २१ वर्षपछि फिर्ता भएको थियो। काठमाडौँ जिल्ला अदालतले २०६० मा श्रीपशुपतिनाथ अमालकोट कचहरी (हाल कोष) र मारवाडी सेवा समितिबीच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएपछि धर्मशाला पशुपतिनाथ मातहत आएको थियो।
कोष सञ्चालक परिषद्ले २०८० साउन १७ गते मारवाडी सेवा समितिसँग भएको नौबुँदे सम्झौता खारेज गर्ने निर्णय गरेपछि समितिले दायर गरेको मुद्दामा अदालतले दाबी नपुग्ने फैसला गरेको हो।
प्रतिक्रिया