प्रहरी प्रमुख सिंह र सशस्त्र प्रमुख अर्याल न्यूयोर्क जाने


काठमाण्डु – नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल न्यूयोर्क जाने भएका छन् । तेस्रो संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुख शिखर सम्मेलन २०२२ मा भाग लिन सिंह र अर्याल भदौंमा न्यूयोर्क जाने भएका हुन् ।

मन्त्रिपरिषदको बिहिवार बसेको बैठकले भदौ १६ मा संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा संचालन हुने तेस्रो यूएनकप्समा सहभागिताका लागि स्वीकृति दिने निर्णय गरेको छ ।

उक्त सम्मेलनमा यसअघि पनि नेपालबाट दुवै सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।

सम्मेलनमा अन्तर्राष्ट्रिय शान्ति,सुरक्षा र सुदृढीकरणमा संलग्न विभिन्न देशका गृहमन्त्री, प्रहरी प्रमुख, क्षेत्रीय र व्यवसायिक प्रहरी संगठनका प्रतिनिधिहरुको सहभागिता रहनेछ ।

यूएनकप्स २०२२ मा प्रहरी, वित्तीय योगदानकर्ता,संयुक्त राष्ट्र संघको सचिवालय तथा संयुक्त राष्ट्र प्रणालीबीच साझा धारणा निर्माण गर्ने विषयमा छलफल हुनेछ ।

संयुक्त राष्ट्र संघ प्रहरीले नागरिकहरुको सुरक्षा,राष्ट्रिय प्रहरी सेवाहरुको पुननिर्माणलगायत विविध र जटिल कार्यको प्राप्तिको आवश्यकताबारे समेत सम्मेलनमा चर्चा हुनेछ । त्यसका साथै अपराध र संघर्षलाई रोक्ने र शान्ति कायम कसरी गर्ने भन्नेबारे समेत सम्मेलनमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement