धितोपत्र बोर्डमा अध्यक्षको बर्खास्तीको माग गर्दै लगानीकर्ताले लगाए ताला


काठमाडौं – सेयर बजार विकास र बिस्तारका लागि भन्दै आन्दोलनको घोषण गरेको लगानीकर्ताहरुको समूहले नेपाल धितोपत्र बोर्डको कार्यालयमा धर्ना दिएका छन् । नेपाल धितोपत्र बोर्डमा अध्यक्षको बर्खास्तीको माग गर्दै लगानीकर्ताले ताला समेत लगाएका छन् ।

सेयर लगानीकर्ता दबाव समूहको टोली जावालाखेलस्थित बोर्डको कार्यालयमा बिहानै ताला लगाएर धर्नामा बसेका हुन् । सेयर बजार सुधार र विस्तारका लागि अर्थ मन्त्रालयले दिएको ५८ बुँदा कार्यान्वयनमा नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जले वेवास्ता गरेको भन्दै सो संस्थाका प्रमुखमाथि लगानीकर्ताले असक्षमताको आरोप लगाउँदै बर्खास्तीको माग गरेका हुन् ।

सेयर बजार लगानीकर्ता दवाब समुहका अध्यक्ष हरि ढकाल बजार बिगार्न बोर्ड र नेप्से सक्रिय रहेको आरोप लगाएका छन् । गत मंसिर १२ गते देखि पुँजी बजारको विकास र विस्तारका लागि आफुहरुले अभियान नै चलाउँदै आएको सन्दर्भमा जिम्मेवार निकाय नै सेयर बजारलाई प्राकृतिक अवस्थामा आउँन नदिन लागि परेको भन्दै ढकालले लगानीकर्ताहरु बोर्डमा ताला लगाउँनुपर्ने अवस्थामा पुग्नुपरेको बताए ।

ढकाल भन्छन्, ‘बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले तपाइहरुलाइ भन्न सजिलो हुन्छ कति ठाउँमा गाठो छ, काम गर्न अप्ठेर छ भन्नु भएको थियो । तर अहिले सरकारले निर्देशन दिँदा पनि काम गर्न नसक्ने अध्यक्ष किन बोर्डमा बसिरहनुपर्यो । उनीहरुले आफ्नो असक्षमतालाई स्विकार गर्दै पदबाट नहटेसम्म सेयर बजारमा सुधार हुँदैन ’।

लगानीकर्ताको समुह यसअघि पनि अर्थमन्त्री डा. युवराज खतिवडा, राष्ट्र बैंकका गर्भनर चिरञ्जीवि नेपाल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्की र नेपाल स्टक एक्सचेन्जका प्रमुखको राजीनामाको माग गर्दै आमरण अनसन बसेको थियो । अहिले लगानीकर्ताको समुह बोर्डमा बिरोधमा उत्रेका छन् ।

धर्नामा सहभागी लगानीकर्ताहरुका अनुसार बोर्डका अधिकारीहरुले अहिलेसम्म औपचारिक वा अनौपचारिक समस्या समाधान गर्न वार्तामा बस्न प्रस्ताव गरेका छैनन् । यसअघि नेपाल स्टक एक्सचेन्ज घेराउ हुँदै आमरण अनसनसम्म बसेको लगानीकर्ताहरुको उक्त समूहले आफ्नो पुरानै मागहरु अघि सार्दै गत फागुन २८ गते आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको थियो ।

समूहले आफ्नो मुख्य मागको रुपमा अर्थमन्त्रीको बर्खास्ती रहेको बताएको छ । अर्थमन्त्री डा. युवराज खतिवडा पुँजी बजार विरोधी भएको र उनको बर्खास्ती नभएसम्म सेयर बजारमा सुधार हुन नसक्ने भएकाले बर्खास्तीको माग अघि सारेको समूहले बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement