धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा पांच जनाको नाम सिफारिस, सम्भावना कस्को बढी ?


काठमाण्डु – नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा पांच जनाको नाम सिफारिस भएको छ । सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको अध्यक्षतामा तीन सदस्यीय छनौट समिति गठन गरेको थियो । उक्त समितिले आइतबार कृष्णबहादुर कार्की, चीरञ्जीवी चापागाईं, डा.नवराज अधिकारी, मुक्ति श्रेष्ठ र सन्तोष श्रेष्ठको नाम सिफारिस गरेको हो । समितिमा अर्थ सचिथ कृष्णहरि पुष्कर र प्राध्यापक उदय निरौला सदस्य थिए ।

छनौटमा परेका मध्ये कार्की नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत, चापागाईं बीमा समितिका पूर्वअध्यक्ष, अधिकारी र मुक्ति श्रेष्ठ बोर्डकै कार्यकारी निर्देशक हुन् । श्रेष्ठ भने विभिन्न वित्तीय संस्थामा संचालक रहेका व्यक्ति हुन् ।

नेप्सेका कार्यकारी अधिकृत कार्की आर्थिक अनियमिततामा मुछिएका अधिकारी हुन् । चापागांईमाथि समेत बीमाको लाइसेन्स वितरण गर्दा आर्थिक लेनदेन गरेको आरोप लागेको थियो ।

धितोपत्र बोर्डको अध्यक्षबाट रमेश हमाल बाहिरिएपछि बोर्ड सञ्चालक समितिले अध्यक्षका लागि आवेदन मागेको थियो । जसमा १९ जनाले आवेदन दिएका थिए । समितिले ५ जनाको नाम सर्ट लिष्ट गरेको थियो ।

बोर्डको सिफारिसपछि अर्थमन्त्री बर्षमान पुनले पांच जनामध्ये तीन जनाको नाम मन्त्रीपरिषदको बैठकमा पेश गर्नेछन् । तीन जनामा चापागांई,मुक्ति श्रेष्ठ र सन्तोष श्रेष्ठको नाम मन्त्रिपरिषद बैठकमा लग्ने समितिको तयारी रहेको स्रोतको दावी छ ।

मन्त्रिपरिषदले तीनमध्ये एक जनालाई चार वर्षका लागि धितोपत्र बोर्ड अध्यक्ष नियुक्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement