पछिल्लो समय नेपालमा मिर्गाैलाको उपचारको क्षेत्रमा ठूलो सुधार आएको छ । मिर्गाैला रोगीको संख्या बढेसँगै उपचार पनि विशिष्टीकृत हुँदै गएको छ ।
नेपालमा सन् २००८ मा पहिलोपटक त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मिर्गाैला प्रत्यारोपणको सुरुवात गरिएको थियो । त्यसअघि मिर्गाैला प्रत्यारोपण गर्नुपरेमा छिमेकी मुलुक भारत र अन्य मुलुक जानुपर्ने अवस्था थियो । पैसा हुनेले विदेश गएर उपचार गर्ने गरे पनि पैसा नहुनेले भने स्वदेशमा राम्रो उपचार नपाउँदा अकालमै मृत्युवरण गर्नुपरेको हुन्थ्यो ।
शिक्षण अस्पतालसँगै क्रमशः अन्य अस्पतालहरूमा मिर्गाैला प्रत्यारोपण सेवाको विस्तार भएको छ । निजी क्षेत्रबाट सबैभन्दा पहिले मिर्गाैला प्रत्यारोपण सुरुआत गर्ने अस्पताल ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल हो ।
हाल १ दर्जनभन्दा बढी अस्पतालहरूमा मिर्गाैला प्रत्यारोपण हुँदै आएको छ । हाल बर्सेनि ४०० जनाको हाराहारीमा मिर्गाैला प्रत्यारोपण हुँदै आएको छ । हाल नेपालमा जटिल खालका मिर्गाैला प्रत्यारोपण पनि सम्भव रहेको छ । भिन्न रक्त समूहका व्यक्तिले पनि मिर्गाैला प्रत्यारोपण गर्न पाउनेछन् । मिर्गाैलाका उपचारका लागि विश्वका विकास भएका सबै प्रविधि अहिले नेपालमा भित्रिएका छन् ।
मिर्गाैला प्रत्यारोपण मात्र नभएर यससम्बन्धी जटिल रोगको पनि नेपालमा उपचार हुँदै आएको छ । मिर्गाैला उपचारका लागि अहिले विदेश जानुपर्ने अवस्था छैन ।
समयमै मिर्गाैला रोग पत्ता लगाउन सके कम खर्चमा मिर्गाैला रोगको उपचार गरी मिर्गाैला रोग पूर्ण रूपमा निको हुने हुन्छ । मिर्गाैला रोग लागेका बिरामीले समयमै जाँच नगर्दा अन्तिम अवस्थामा विरामी अस्पताल आउने गरेको पाइन्छ । मिर्गाैला फेल भइसकेपछि विरामी अस्पताल पुग्दा यसको उपचारका लागि धेरै खर्च लाग्छ । मिर्गाैला प्रत्यारोपण र डायलाइसिस दुवै महंगो विधि हो । मिर्गाैलाको रोग समयमै पत्ता नलाग्दा नेपाल जस्तो मुलुकका लागि मात्र नभई विश्वकै लागि ठूलो आर्थिक भार थपेको छ । हाल सरकारले मिर्गाैला बिरामीको उपचारका लागि सहयोग गर्दै आएको छ ।
सरकारले मिर्गाैला प्रत्यारोपणका लागि सरकारी अस्पतालमा ४ लाख ५० हजार र औषधिका लागि १ लाख सहयोग गर्दै आएको छ । बीमामा आवद्ध भएका बिरामीलाई बीमाबाट पनि औषधि दिने व्यवस्था गरेको पाइन्छ । डायलाइसिसका लागि पनि सहयोग गर्दै आएको छ । डायलाइसिसको सुविधा गाउँमा नहुँदा शहरी क्षेत्रमा आएर उपचार गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको छ ।
शहरी क्षेत्रमा आएर कोठा खोजेर हिमोडायलाइसिस गराउँदा खर्च महंगो हुँदै गएको छ । डायलाइसिस हप्ताको २–३ पटकसम्म गर्नुपर्ने हुन्छ । अरु रोगको तुलनामा मिर्गाैला उपचारमा ठूलो आर्थिक भार पर्ने गरेको छ । पेटमा हुने डाइलोसिस घरमै बसेर गर्न सकिन्छ । ५ प्रतिशत बिरामीले मात्र पेरिटोनियल (घरमै बसेर गर्न मिल्ने डायलाइसिस) गरिरहेका छन् । हिमो डायलाइसिस (मशिनबाट गरिने) डायलाइसिस हो । नेपालमा यो डायलाइसिस अस्पतालमा मात्र गरिन्छ ।
नेपालमा मिर्गाैलाका बिरामी दिन प्रतिदिन बढ्दै गएको पाइन्छ । मिर्गाैला रोग हुने मुख्य कारणमा मधुमेह (सुगरको रोग) र उच्च रक्तचाप नै हो । यसबाहेक ग्लोमरुलोनेफ्राइटिस, पत्थरी, वंशाणुगत रोग र विभिन्न मिर्गाैला बिगार्ने औषधिको सेवनले गर्दा हो । विदेशी मुलुकमा श्रम गर्न गएका नेपालीलाई बढी मात्रामा मिर्गाैलाको रोग देखापरेको पाइन्छ । खानपान नमिल्ने, लामो समय काम गर्नुपर्ने, समयमै उपचार नहुनु आदि तनावका कारण यो रोग विदेश काम गर्न गएका नेपालीलाई लाग्ने गरेको पाइन्छ । मिर्गाैला फेल भएपछि गरिने उपचार पद्दति ज्यादै महंगो भएकाले समयमै मिर्गाैला रोग लाग्न नदिनु वा समयमै पहिचान गरी त्यसको उपचार गर्दा यसको जोखिमबाट बच्न सकिन्छ । त्यसैले मिर्गाैला रोगको जोखिममा रहेका बिरामीले यसको नियमित परीक्षण गर्नुपर्छ ।
परिवारमा मिर्गाैला रोग भएका व्यक्ति, मधुमेहका रोगी, उच्च रक्तचाप भएका व्यक्ति, मिर्गाैलामा पत्थरी भएका व्यक्तिले मिर्गाैलाको नियमित जाँच गर्नुपर्छ । त्योबाहेक कुनै लक्षण देखापरेमा जस्तै, जीउ सुनिन्ने, खुट्टाको गोलीगाँठा सुन्निने, आँखाको डिल सुन्निने, पिसाबको रंग धमिलो हुने, घाममा हिँड्दा गाला रातो हुने, पिसाबमा अत्याधिक फिँज आउने या कोखा दुख्ने, पिसाब छिनछिनमा आउने, जोर्नी दुख्ने वा पोल्ने जस्ता लक्षण देखिएमा तुरुन्त विशेषज्ञ चिकित्सक कहाँ गई उपचार गर्नुपर्ने हुन्छ । दुखाइ कम गर्ने औषधि लामो समय प्रयोग गर्दा मिर्गाैलालाई खराब गर्ने भएकाले त्यसको प्रयोग गर्दा चिकित्सकको सल्लाह लिएर मात्र लिने गर्नुपर्छ । चिकित्सकको सल्लाह विना औषधि प्रयोग नगर्ने, यस्ता रोग सुरुको अवस्थामा पत्ता लागेमा अधिकांश रोग निको हुन्छ । मिर्गाैला प्रत्यारोपणबाट बच्न सकिन्छ ।
मिर्गाैलाको रोगबाट बच्न र नियन्त्रणमा राख्न खानपानमा विशेष ध्यान दिने, सुख्खा खाना (जंक फूड) नखाने, प्रशस्त मात्रामा फलफूल, सागपात तथा पानी पिउनुपर्छ । नियमित व्यायाम गर्ने, गुलियो खानेकुरा नखाने, गुलियो पेय पदार्थ सकेसम्म नखाने गर्नुपर्छ । अत्याधिक नून भएका खानाहरू कम खाने गर्नुपर्छ । यसबाहेक तनाव कम गर्नका लागि व्यायाम, योग, ध्यान गर्नुपर्ने हुन्छ । दैनिक ६ घण्टादेखि ८ घण्टासम्म सुत्ने गर्नुपर्छ । आफ्नो तौल नियन्त्रण गर्ने गर्नुपर्छ । कुनै रोग नलागे पनि ३० वर्षभन्दा माथिका व्यक्तिले आफ्नो स्वास्थ्य परीक्षण गर्ने गर्नुपर्छ । मिर्गाैला रोगको जोखिममा रहेका व्यक्तिहरूले आफ्नो ब्लड प्रेसर, सुगर र पिसाबको जाँच नियमित गर्नुपर्छ ।
(प्रा.डा. शाह ग्राण्डी अन्तरराष्ट्रिय अस्पताल धापासीमा वरिष्ठ मिर्गाैला रोग तथा प्रत्यारोपण विशेषज्ञको रूपमा कार्यरत छन् ।)
प्रतिक्रिया