राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भएर रक्षामन्त्री खड्का स्वदेश फिर्ता


काठमाण्डु – उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का घानाको आक्रामा आयोजित अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मन्त्रिस्तरीय सम्मेलनमा सहभागी भई आइतबार स्वदेश फर्किएका छन्।

यही मङ्सिर १८ देखि २० गतेसम्म आयोजित सम्मेलनमा उपप्रधानमन्त्री खड्का नेपाली टोलीको नेतृत्व गर्दै सम्मेलनमा सहभागी भएका थिए। नेपाली टोलीमा रक्षा र परराष्ट्र मन्त्रालय तथा नेपाली सेनाका उच्च पदाधिकारीहरुको सहभागिता थियो।

सम्मेलनले अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी विविध विषयमा छलफल गर्नुका साथै हालसम्म भएका कामको समीक्षा गर्दै भविष्यका लागि मार्ग तय गर्ने र सदस्य राष्ट्रकोतर्फबाट यस कार्यमा सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिएको थियो।

‘पिस बिगिन्स विथ मि’ भन्ने नाराका साथ सुरु भएको सम्मेलनमा विश्वभरका ९० देशका उच्चस्तरीय प्रतिनिधिमण्डलको सहभागिता थियो। सम्मेलनले संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनलाई थप प्रभावकारी बनाई विश्वशान्ति स्थापनाका लागि सहकार्य, समन्वय र सहयोग अभिवृद्धि गर्न जोड दिनुका साथै सम्मेलनमा व्यक्त गरिएका प्रतिबद्धता प्रभावकारी कार्यान्वयनमा जोड दिइएको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement