डिआईजी बढुवामा सकसः आफु निकटलाई बढुवा गर्न विशेष दरबन्दी सिर्जना गर्ने तयारी


काठमाडौं– गृहमन्त्रालयलाई नेपाल प्रहरीको रिक्त एक डिआईजी पदमा बढुवा गर्न सकस परिरहेको छ । गृहमन्त्रालयको आदेशपछि शनिवार राति प्रहरी मुख्यालयले १४ जना एसएसपी र २६ जनालाई एसपीमा बढुवा गर्ने निर्णय गरेपनि डिआईजी  बढुवा गर्न भने सकस परिरहेको हो ।

डिआईजी बढुवामा प्रहरीका उच्च अधिकारीहरुको चर्को दौडधुप र उच्च राजनीतिक नेतृत्वको दबावका कारण गृहमन्त्री रामबहादुर थापा र गृहसचिव प्रेम राई डिआईजी बढुवा अघि बढाउन सकिरहेका छैनन् । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल बढुवाका लागी नेताको घर धाएको भेटिए कार्वाही गर्ने चेतावनी दिइरहेका छन् । तर, उच्च अधिकारीहरु बढुवाका लागी मन्त्री र नेताको दैलो धाउने क्रम भने जारी छ ।

नेकपाका केही प्रभाशाली नेताहरुले त सचिव र मन्त्रीलाई निवासमै बोलाएर बढुवाका लागी दवाव दिएको स्रोत बताउंछ । बढुवाका लागी वरियताका आधारमा एसएसपी विरेन्द्र श्रेष्ठ लाईनमा छन् । उनि हालका आईजिपी सर्वेन्द्र खनालका ब्याची समेत हुन् । तर, उनीभन्दा पछिका अधिकृतहरु उनलाई बढुवा दिन नहुने भन्दै लविङमा छन् ।

बढुवाका लागी एएसपीहरु विरेन्द्र श्रेष्ठ, घनश्याम अर्याल, गणेश ऐर, बसन्त पन्त, विश्वराज पोखरेल, उत्तम सुवेदी, धिरज प्रताप सिंह र रविन्द्र धानुकको बीचमा तिब्र प्रतिस्पर्धा रहेको छ । रिक्त एक डिआईजी पदमा बढुवा लागी एसएसपी ऐर र पोखरेल मुख्य दावेदारका रुपमा देखिएको गृहमन्त्रालय स्रोतको दाबी छ । नेकपाका अध्यक्षसहित अधिकांश प्रभावशाली नेता ऐरको पक्षमा छन् भने उपप्रधानमन्त्री ईश्वर पोखरेलले विश्वराजको पक्षमा अडान लिएका छन् ।

आकांक्षी धेरै भएपछि सरकारले डिआईजीको अर्को विशेष दरबन्दी थपेर दुई जनालाई बढुवा गर्ने तयारी गररेको बताईन्छ । काभ्रेमा जिप दुर्घटना हुंदा मृत्यु भएका डिआईजी शुसिल भण्डारीको दरबन्दी अहिले रिक्त छ । उनकै दरबन्दीको ठाउंमा विशेष दरबन्दी सिर्जना गर्ने गृहको तयारी छ । हाल प्रहरीमा २४ जना डिआईजीको दरबन्दी रहेको छ ।

प्रहरीका अधिकांश कार्यालयहरुमा शौचालय नभएको र जवानहरुलाई बस्ने बासस्थानको कमी भइरहेको समाचार प्रकासित भइरहंदा सरकारले भने त्यता कुनै ध्यान दिएको देखिदैन । तर, आफु निकट अधिकारीलाई उच्च ओहोदामा बढुवा गर्न भने सरकारले दरबन्दी थप्ने तयारी गरेको हो । यसअघि पनि बढुवामा आकांक्षी धेरै भएपछि हचुवाका आधारमा दरबन्दी थप हुने गरेको थियो ।

गृहसचिव राईलाई दरबन्दी थपबारे प्रश्न गर्दा अनभिज्ञता प्रकट गरे । तर,गृहस्रोतकाअनुसार दुई जना एसएसपीलाई डिआईजी बढुवा गर्न दरबन्दी थप्ने तयारी पुरा भएको छ । दरबन्दी थप भएसंगै सम्भवत् एसएपीहरु ऐर र पोखरेल डिआईजीमा बढुवा हुनेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement