काठमाण्डु– वरिष्ठ पत्रकार दिल भूषण पाठकविरुद्ध काठमाण्डु जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।
समाचार प्रकाशनको विषयलाई लिइएर दिइएको उजुरीको आधारमा नेपाल प्रहरीको साइबर ब्यूरोले अदालतबाट पत्रकार पाठकविरुद्ध पक्राउ पुर्जी लिएको हो ।
काठमाण्डुको हिलटन होटल र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका पुत्र जयविर देउवाको विषयमा प्रकाशन गरेको समाचारको आधारमा साइबर क्राइममा उजुरी दर्ता गरी पत्रकार पाठकलाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी लिइएको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ ।
पत्रकार पाठकविरुद्ध देउवापुत्र जयविरले नै उजुरी दिएको र जयवीरकै योजनाअनुसार अदालतबाट पक्राउ पुर्जी लिइएको बताइएको छ ।
पाठकले तीन हप्ता अगाडि आफ्नो युट्युब च्यानलमा हिल्टन होटलको शेयर खरिदबिक्रीसँग सम्बन्धित सामग्री पोष्ट गरेका थिए ।
यस्तै पाठकविरुद्ध पुर्जी जारी भएको भन्दै पत्रकारहरुले आपत्ति जनाएका छन् । वरिष्ठ पत्रकार राजेश राई, इन्द्र आचार्य, नारायण अमृत, भानुभक्त आर्चाय लगायतले नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रता विरुद्ध एकपछि अर्को आक्रमण भएको भएको बताएका छन् ।
हरेक समाचारहरु दलाल र विचौलियाहरुलाई मात्रै सोधेर लेख्नु पर्ने दिन आउन सक्ने भन्दै पत्रकारिता गर्नेहरुले यसको सामुहिक प्रतिरोध गर्नुपर्ने बताएका छन् ।
प्रतिक्रिया